अनलाइन फिल्मीखबर अवार्ड (ओफा)मा उत्कृष्ट भएको रेखा र जीवनको जोडी ५ औं एचटिभी फिल्मीखबर डि सिने अवार्ड २०७० मा पनि उत्कृष्ट ठहरिएको छ ।
कमलादीस्थित एकेडेमी हलमा सम्पन्न डि सिने अवार्डमा लंका फिल्मबाट रेखा थापाले उत्कृष्ट अभिनेत्री र नोटबुकबाट जीवन लुइँटेलले उत्कृष्ट अभिनेताको अवार्ड उचाले । रेखा र जीवन सँगै फिल्म रिदम उत्कृष्ट फिल्म ठहरियो । यसै फिल्मबाट विकास आचार्यले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे । क्रिटिक्स, जुरी र पब्लिक च्वाईस गरि ३१ बिधामा बाँडिएको सो अवार्डमा मायाज बार, नोटवुक र रिदमको वर्चस्व रह्यो ।



मायाज बार फिल्मबाट गजित बिष्टले नवनायकको अवार्ड पाए भने सिमा केसीले नवनायिकाको अवार्ड युज फिल्मबाट पाईन् । महिला निर्देशक दिपा बस्नेतले अन्तरालबाट नवनिर्देशकको अवार्ड हात पारिन् । मायाज बारका निर्देशक दिनेश डिसी र अभिनेत्री निशा अधिकारीलाई क्रिटिक्स अवार्ड दिइयो भने अर्पण थापाले फिल्म धन्दा मार्फत पहिलो पटक क्रिटिक्स अभिनेताको अवार्ड पाए । मञ्जरी फिल्मका फोहोरी केटा गौरव पहारीले पव्लिक च्वाइसको अवार्ड हात पारे । शिरिषको फुललाई जुरी अवार्ड प्रदान गरियो ।



अभिनेत्री सर्मिला मल्ल र मदनदास श्रेष्ठलाई चलचित्रकर्मी रजत सम्मान प्रदान गरियो । छायाँछवि पत्रकारिता सम्मानबाट राजन घिमिरे सम्मानित भए । नेपालमा थ्रिडी फिल्म भित्र्याउने आश्मा फिल्मस्का दिपेन्द्र के. खनाललाई स्टार एफएफ इन्करेज्मेन्ट अवार्ड दिइयो । यो कम्पनीले थ्रिडी भिजिलान्ते फिल्म निर्माण गरेको थियो ।



प्रल्हाद तिमल्सिना र मिलन अमात्यले काली फिल्मको 'स्लोली स्लोली...' र सनुप पौडेलले मञ्जरी फिल्मको 'हे दैव...' वोलको गीत गाए । गजित विष्ट, अशिष्मा नकर्मी, विनोद श्रेष्ठ, रिस्ता बस्नेत, एनी कुँवर समुहको नृत्यले अवार्ड कार्यक्रम गरम बनेको थियो । दिपाश्री निर्रौला, दिपकराज गिरी र शैलेन्द्र सिम्खडाको हाँस्य व्याङ्ग्यले कार्यक्रममा हाँसोमय बन्न पुग्यो ।



अन्य बिधामा अवार्ड पाउनेहरूको लिस्ट निम्मानुसार छ -
उत्कृष्ट चरित्र अभिनेता : टिका पहारी (मञ्जरी)
उत्कृष्ट खलपात्र : झरना थापा (फेसबुक)
उत्कृष्ट संगीत : अर्जुन पोखरेल (मेरो जीवनसाथी)
उत्कृष्ट गायक : प्रल्हाद तिमल्सिना (गाला रातै, नोटवुक)
उत्कृष्ट गायिका : मिलन अमात्य (गाला रातै, नोटवुक)
उत्कृष्ट गीतकार : कृष्णहरी बराल (पागल म, रिदम)
उत्कृष्ट नृत्य निर्देशक : शंकर विसी, (सरर वेनीको, जीवनसाथी)
उत्कृष्ट द्धन्द्ध निर्देशक : चन्द्र पन्त (हमेशा)
उत्कृष्ट संवाद : शिवम अधिकारी (नोटवुक)
उत्कृष्ट पटकथा : विकास आचार्य (रिदम)
उत्कृष्ट कथा : योगेश घिमिरे (नोटबुक)
उत्कृष्ट बाल कलाकार : अनुभव रेग्मी (रिदम)
उत्कृष्ट ध्वनी मिश्रण : मनोज राज भण्डारी (फुलस्टप)
उत्कृष्ट पाश्र्व संगीत : एलिश कार्की (मायाज बार)
उत्कृष्ट श्रृङ्गार : नीमा लाम (धन्दा)

