Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`हरिवंश सय, म जिरो` : मदनकृष्ण श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, 2013/10/27

हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्नो जोडी मित्रताको लोगो बनोस् भन्ने इच्छा व्यक्त गरेका छन् । राजधानीमा जारी एनसेल लिटलेचर फेस्टिभलको तेस्रो दिनमा 'जीवन्त जोडी' सेसन अन्तर्गत महले यस्तो चाह व्यक्त गर्दा सहभागी सयौं दर्शकले ताली बजाएका थिए ।

 

फेस्टिभलकै सबैभन्दा महत्वका साथ हेरिएको सेसनमा महले 'जोडी कसरी बन्यो ?', 'बेला-बेलामा आएका दरार' र 'जोडी टिकिरहनुको आधार' बारे बोलेका थिए । 'व्यक्ति पिच्छे फरक सोच र विचार हुन्छ । तैपनी हामी ३४ वर्षदेखि सँगै छौं,' कार्यक्रमको सुरुमै हरिवंशले भने- 'किनभने हामी एकअर्काको कमजोरीमा झुकिदिन्छौं र एकअर्काप्रति विश्वास राख्छौं ।' उनले हरेक टेलिफिल्म, फिल्म वा स्टेज पर्फमेन्समा प्रतिस्पर्धासँगै सम्झौता पनि हुने गरेको खुलाए । 'म हरेक प्रस्तुती मदन दाईभन्दा राम्रो होस् भन्ने ठान्छु तर उहाँको कमजोर भइदियोस् भन्ने चाहीं होइन । सायद यही प्रतिस्पर्धाले हामीलाई यहाँसम्म ल्याएको छ,' सम्बन्धको निरन्तरताबारे उनले स्पष्ट पार्ने प्रयास गरे ।

 


हरिवंशले यसो भनिरहँदा छेवैमा रहेका मदन भने मुस्कुराइरहेका थिए । उनले पनि सम्बन्ध टिकिरहनुमा हरिवंशकै ठूलो देन भएको बताए । 'हरिवंश सय हो भने मदनकृष्ण जम्मा जिरो । तर, यही जिरो सयको पछाडि राखियो भने हजार हुन्छ। त्यसैले मैले हरिको साथ छोडेको छैन,' हरिवशंको प्रशंसा गर्दै उनले भने- 'हरिलाई हरेक रोल फिट हुन्छ । तैपनी उसमा कुनै घमण्ड छैन ।' उनले अभिनयमा मात्र नभई आफ्नो जीवनमा पनि हरिवंशको बहुआयामीक भूमिका हुने गरेको बताए । 'हरि मलाई दाई भन्छ तर कहिले उ मेरो छोरा, कहिले अभिभावक त कहिले साथी जस्तो भइदिन्छ,' उनले भने ।

 


'मेरो बुबा म ६ वर्षको हुँदा बित्नुभयो, आमा ९ वर्षमा मलाई छोडेर जानुभयो । श्रीमती मिराले २७ वर्षसँग साथ दिएर एक्लै परलोक भइन्,' भावुक हुँदै हरिवंशले भने- 'तर मदन दाई ३४ वर्षदेखि मसँगै हुनुहुन्छ।' उनीहरुले मह जोडीको सम्बन्ध विश्वासभन्दा माथि पुगिसकेकोले अब कुनै हालतमा नटुट्ने जिकीर गरेका थिए । अझ ठट्यौली पारामा हरिवंशले भने- 'हाम्रो सम्बन्ध स्थायी भइसकेको छ । अब केही वर्षमा पेन्सन पाउँछ ।' करिब एक घण्टासम्म चलेको उक्त अन्र्तक्रियामा पत्रकार विजयकुमारले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए।