निर्देशक अनुप बरालले दर्शक माझ कमजोर फिल्म लिएर आफु नजाने बताएका छन् । फिटकिरी निर्देशक बरालले फिल्मीखबरसँग कुरा गर्दै आफ्नो पहिलो फिल्म प्रदर्शनमा नआएसम्म अर्को फिल्म निर्देशन नगर्ने समेत बताए ।
रंगकर्मी बरालले भने- 'पहिलो फिल्मलाई राम्रो बनाउने प्रयास गर्दैछु । कमजोर फिल्म लिएर दर्शक माझ जान मन छैन ।' निर्देशक बरालले बिचमा प्रस्तावित तीन वटा फिल्मको निर्देशनलाई रिजेक्ट गरेको समेत बताए । पछिल्ला केही वर्षदेखी नेपाली फिल्मको प्रतिस्पर्धा विदेशी फिल्मसँग रहेको तर्क गर्दै उनले भने- 'हामी फरक बनाउने कोशिस गरिरहेका छौं ।'
तर, अहिलेसम्म फरक भनिएका फिल्म पनि आम दर्शकले रुचाउने बन्न सकेका छैनन् । उनले थपे- 'फिटकिरी फिल्म यथार्थसँग नजिक छ । नेपाली फिल्ममा एउटा स्टाइल भित्र्याउने कोशिस गरेको छु ।' फिल्म रचनात्मक र आम जनमानसँग मेल खानु पर्ने उनले जोड दिए । सौगात मल्ल, दिया मास्के र निश्चल बस्नेतको मुख्य भुमीका रहेको फिटकिरीको हाल व्याग्राउन्ड स्कोरको कार्य भैरहेको उनले जानकारी दिए । फिल्म यही वर्षको अन्त्यसम्म रिलिज हुनेछ ।

