रंगीन दुनियामा आफ्नो नाम चम्काउन चाहनेको जमात शहरदेखि गाउँसम्म बाक्लै भेटिन्छन् । कसैकसैले नाम चम्काउँछन् त कसैले संघर्ष गर्दागर्दा कपाल फुलाउँछन्, तर सपना पुरा हुँदैन ।
नेपाली फिल्म उद्योगमा आफ्नो नाम निर्देशक, निर्माता र कलाकारको रुपमा चम्काउन चाहनेको जमात पनि बाक्लै छ । त्यसैले त अहिले धमाधम फिल्म फ्लप भैरहेको अवस्थामा पनि निर्माण कार्य रोकिएको छैन ।
संघर्ष गरेर केहि नहुने देखेपछि पछिल्लो समय नेपाली फिल्म उद्योगमा आफ्नो नाम चम्काउनका लागि ‘मुर्गा’ पट्याउने प्रचलन बढ्दै गएको छ । जसले पैसाको खोलो बगाउन सक्यो उसैले फिल्ममा चान्स पाउँछ । र, भाग्यमा लेखेको रै’छ भने अगाडी पनि बढ्छ । यस्तै नाम चम्काउने वहानामा धेरैले आफ्नो घरखेत समेत गुमाएका उदाहरणहरु छन् ।
नेपाली फिल्म उद्योगमा एउटा फिल्म बनाउनका लागि के कस्तो संघर्ष हुन्छ ? भन्ने विषयमा बनेको नेपाली फिल्म 'प्रोड्युसर'को पोखरामा विशेष शो भएको छ । फिल्मका कलाकार, निर्देशक सहितको विशेष शोमा पोखराका फिल्मकर्मी, संचारकर्मी, संगीतकर्मी लगाएतको विशेष उपस्थिती रहेको थियो । फिल्मले नेपाली फिल्म उद्योगको वास्तविकतालाई पर्दामा उतारेको छ ।
नेपाली फिल्म उद्योगमा करिअर खोज्दै गरेका युवाहरुको कथालाई रमाईलो तरिकाले प्रस्तुत गरेको फिल्मलाई हेर्ने जति सबैले राम्रो बनेको प्रतिक्रिया दिए । फिल्ममा संचारकर्मी श्याम अर्याल, विल्शन विक्रम राई, बाबु बोगटी, श्वेता भट्टराई लगाएतले अभिनय गरेका छन् । संचारकर्मीको रुपमा लामो समय काम गरेका जनकदीप पराजुलीले फिल्मलाई निर्देशन गरेका छन् ।
मिडियाज कलेक्शनको ब्यानरमा निर्माण भएको फिल्म चाँडै नै प्रदर्शनमा ल्याईने निर्देशक जनकदीपले जानकारी दिए । फिल्मलाई ज्योतीराज राईले निर्माण गरेका हुन् । फिल्मले राम्रो व्यापार गर्नेमा आफुहरु ढुक्क भएको निर्माण पक्षले जनाएको छ ।

