'नेपाली फिल्मको यो इतिहास हो', निर्माता, वितरक तथा हलवाला नरेन्द्र महर्जन भन्छन्- 'यसअघि दशैंमा प्रदर्शन भएका कुनै पनि नेपाली फिल्मले यस्तो व्यापार गरेका थिएनन् ।' दशैंको अवसरमा प्रदर्शन भएको फिल्म कालीको दुई हप्ते व्यापारलाई लिएर निर्माता, वितरक तथा हलवाला महर्जनले फिल्मीखबरलाई यस प्रकारको अभिव्यत्ती दिएका हुन् ।
गत वर्षको दशैंमा प्रदर्शन भएका चार फिल्मले निराशको व्यापार गरेका थिए । यस वर्ष भोजपुरीको नेपालीमा डव गरिएको विराज भट्ट अभिनित फिल्म दामिनीसँगै प्रदर्शन भएको फिल्म कालीको व्यापार भने उत्साहप्रद रहेको वितरकले रिपोर्ट दिएका छन् । नरेन्द्र महर्जनका अनुसार रेखा थापा स्टार फिल्म कालीले दुई हप्ता (१४ दिन) मा मोफसलका पर्दाबाट एक करोड ग्रसको व्यापार गर्न सफल भएको छ ।
शविर श्रेष्ठ निर्देशित फिल्म काली मोफसलका दुई दर्जन पर्दामा तेस्रो हप्तामा प्रदर्शन भैरहेको महर्जनले जानकारी दिएका छन् । त्यस्तै वितरक गोपाल कायस्थले कालीले दुई हप्ता (१४ दिन) मा काठमाण्डौबाट ७३ लाख ८६ हजार ग्रस कलेक्सन गरेको रिपोर्ट दिए । उनले फिल्म तेस्रो हप्तामा काठमाण्डौ उपत्यका र बनेपा गरि आधा दर्जन हलमा प्रदर्शन भैरहेको जानकारी दिए । प्रचार खर्च सहित कालीको लगानी ४५ लाख हो ।
सरस्वती थापा र दिजेन्द्र शाक्य निर्माता रहेको फिल्म लगानी उठाएर नाफामा छ । फिल्मका कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्ममा रेखाको साथमा किशोर खतिवडा र बाल कलाकार अनुभव रेग्मीको मुख्य अभिनय छ ।
रेखाको कार छविलाई उपहार

काली फिल्म हिट भएपछि अभिनेत्री रेखा थापाले आफुले चढ्दै आएको होन्डाइको गेज कार पूर्व पति छविराज ओझालाई उपहार दिएकी छिन् । फिल्म 'दमदार'को सुटिङमा व्यस्त रेखाले भने ४३ लाखमा टेरेसको रातो कार खरिद गरेकी छिन् ।
दामिनीलाई घाटा छैन

कालीसँगै फुलपातीमा प्रदर्शन भएको भोजपुरी फिल्म दामिनी पनि घाटामा भने गएन । प्राप्त रिपोर्ट अनुसार विराज भट्ट र रेखा थापाको छोटो रोल रहेको दामिनीले केही नाफा समेत कमाएको छ । दामिनीलाई मनोज राठी समुहले नेपालमा प्रदर्शन गरेको हो । कालीलाई काउण्टर दिन दामिनी रिलिज गरिएको थियो ।
स्टारको आधा लगानी रिकभर !
दशैं सकिए लगत्तै प्रदर्शनमा आएको फिल्म स्टारले भने उत्साहको व्यापार गर्न सकेन । यद्पी निर्माता लक्ष्मण सुवेदीले एक हप्ताको रिलिजबाट लगानीको आधा भाग रिकभर गरेको दाबी गरेका छन् । फिल्मको लगानी ४० लाख बताइएको छ । फिल्म पूर्वका स्टेशनमा कार्तिक ८ गते बाट मात्रै प्रदर्शनमा आएको छ । पश्चिमका स्टेशनमा रिलिज हुन बाँकी रहेकाले स्टारको लगानी रिकभर हुने निर्माता सवेदीले आशा व्यक्त गरे । फिल्ममा सुमिना घिमिरेको मुख्य रोल छ ।

