करिब ३६ बर्ष अगाडी बलिउडका चर्चित क्यामेरा म्यान विनोद प्रधान श्रीमतीलाई भगाएर नेपाल ल्याएका थिए । गुजराती डलीसँग भागी विवाह गरेपछि विनोद लुक्नका लागि नेपाल आएका थिए ।

मुम्बईमा संघर्ष गर्दागर्दै घरवेटीकै छोरीसँग प्रेम गरेका विनोदले परिवारको मञ्जुरी नभएपछि डलीलाई भगाएर नेपाल ल्याएको फिल्मीखबरको भेटमा भने । 'उनको परिवारले स्विकार्ने अवस्था थिएन त्यसैले भागेर नेपाल आईयो,' फ्ल्यास व्याकमा पुग्दै विनोदले सम्झिए- 'जागिर पनि नभएकाले त्यो बेला नेपालमा बस्न निकै गार्हो भयो ।'

विनोदकी श्रीमती डलीले पनि आफूहरूको प्रेमकथालाई लुकाउन चाहिनन् । हाँस्दै भनिन्- 'हेर्दा निकै सोझो हुनुहुन्थ्यो तर मलाई भगाएरै छाड्नु भयो ।' ३६ बर्ष पछि नेपाल आउँदा निकै परिवर्तन पाएको डलीले सुनाईन् । 'अहिले माछापुच्छ्रे हेर्न आएको,' शुद्ध नेपाली बोल्दै उनले भनिन्- 'उहाँको व्यस्तताले राम्रोसँग घुम्न पनि पाईएन ।'

केहि दिनमा श्रीमानको साथमै भारत फर्कने तयारीमा रहेकी डलीले नेपाल निकै राम्रो लागेको बताईन् । 'पहिले र अहिलेको काठमाण्डौमा आकाश पातालको फरक', उनले भनिन्- 'पोखरा साँच्चिकै रमाईलो लाग्यो ।' करिब पाँच बर्ष अघि कामको शिलशिलामा श्रीमतीलाई नलिई काठमाण्डौ पसेका विनोदले पनि नेपाल आउँदा आफ्नै घर आएको जस्तो लाग्ने बताए । विनोदको घर दार्जीलिङको कालिङ्पोङ हो ।

