पौष २६ गते प्रदर्शन मिति तोकिएको फिल्म 'वितेका पल'का निर्माता राजेश घतानीले सोही मितिमा रिलिज हुने फिल्म 'छ एकान छ'का निर्माता निर्मल शर्मासँग फिल्म हल खाली गरिदिन आग्रह गरेका छन् ।
अनेकस अवार्ड कार्यक्रममा एमसी गर्ने जिम्मा लिएका निर्माता घतानीले अतिथि बनेर ड्यासमा बसेका तीतो सत्यका गैंडालाई आग्रह गर्दै भने- 'दाई हामी भन्दा सिनियर हुनुहुन्छ । हामी नयाँ मेकर्सलाई पौष २६ को मिति छाडिदिनु हुन्छ भन्ने आशा लिएको छु ।' निर्माता घतानीले हल खाली गर्न आग्रह गरिहंदा निर्माता तथा कलाकार शर्मा भने हाँसे मात्रै ।

शर्मा र घतानी बिच मिति सार्ने विषयमा पछि खासै कुरा भएन । 'छ एकान छ'मा तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानीका कलाकारको मुख्य अभिनय छ । दिपकराज गिरी, सिताराम कट्टेल, केदार शर्मा, जितु नेपाल, शिवहरी पौडेल, सन्दिप क्षेत्री, निता ढुङगाना लगायतको मुख्य अभिनय छ । दिपाश्री निर्रौलाले फिल्ममा सह-निर्देशन गरेकी छिन् । फिल्मका निर्देशक दिनेश डिसी हुन् ।
त्यस्तै सुरज सुब्बा नाल्बो निर्देशित फिल्म 'वितेका पल'मा केकी अधिकारी, बाबु बोगटी र अविनाश गुरूङको मुख्य भुमिका छ । दार्जिलिङमा छायाँकन गरेको यो फिल्मले प्रेमकथालाई पस्कनेछ । 'छ एकान छ' र 'वितेका पल'को पौष २६ रिलिजलाई लिएर रजतपटमा राम्रै चर्चा चलेको छ ।

