नेपालीमा एउटा उखान छ, '१२ बर्ष पछि खोलो पनि फर्कन्छ'। यहि उखान निर्देशक शम्भु प्रधानमा लागु भएको छ । १२ बर्ष अघि 'सन्यास' फिल्म निर्देशन गरेका शम्भु पुन: निर्देशनमा व्याक भएका छन् ।
निर्देशनमा पुनरागमन गर्न लागेको फिल्म ‘रङ बैगनी’को निर्देशक प्रधानले बिहीवार राजधानीमा औपचारिक रूपमा निर्माणको घोषणा गरे । फिल्म बनाउने मुड चलेर निर्देशनमा व्याक भएको शम्भुले बताए । 'अहिले देखि नै निकै 'इन्जोय' गरेको छु,' शम्भुले भने- 'च्यालेञ्ज पनि उत्तिकै भएको महसुस गरेको छु ।' नेपाल भ्रमणमा आएका भारतीय छायांकार बिनोद प्रधानको उपस्थितिमा नयाँ फिल्मको घोषणा गरिएको हो ।
‘सम्झना’ ,‘सपना’, ‘स्वर्ग’, ‘सरस्वती’, ‘सुनचाँदी’,‘सक्कली नक्कली’, 'सन्यास' जस्ता फिल्म निर्देशन गरेका शम्भुले ‘रङ बैगनी’ मार्फत आफ्नै छोरा शशांक प्रधानलाई सिनेमाटोग्राफरको रूपमा डेब्यू गराउँदै छन् भने बलिउडका चर्चित छायाँकार विनोद प्रधानको छोरा दिप प्रधानलाई संगीतकारको रूपमा नेपाल भित्र्याउँदै छन् । शम्भुले निर्देशक गरेको फिल्म 'सम्झना' र 'सपना'मा विनोदले छायाँकारको भुमिका निर्वाह गरेका थिए । 'आज दोस्रो पुस्तासँग काम गर्दैछु, निकै रमाईलो अनुभव हुँदैछ,' शम्भुले भने ।

चंकी प्रधानका रुपमा थुप्रै नेपाली फिल्ममा अभिनय गरेका शंशाकले पुनाको एक इन्स्टिच्युटमा डेढ वर्षे फोटोग्राफी कोर्स गरेर आएका हुन् । शशांकले घरमा फिल्म बनाउन चाहिने सबै चीज उपलब्ध भएकोले फिल्म बनाउन लागेको बताए । ‘घरमै लेखक, निर्देशक, छायाँकार, स्टुडियो तथा निर्माण सामाग्री उपलब्ध छन् । सानै देखि फिल्मको वातावरणमा हुर्किएकाले पनि फिल्म प्रतिको मोह सानैदेखि रहिरह्यो,’ शशांकले भने ।

केहि प्राबिधिकको टुंगो लागेको यस फिल्मको कथा शम्भुकै अर्धाङ्गिनी नूतन प्रधानले लेखेकी हुन् । उनी फिल्मकी निर्माता समेत हुन् । नूतनले ‘रङ बैगनी’ले ‘फिमेल बन्डिङ’को कथा भन्ने बताइन् । ‘बैर्गनी रङ रोमान्स,लगाव र संवेदनशीलताको रङ हो । फिल्मले पनि यिनै कुरालाई कलात्मक तवरले प्रस्तुत गर्नेछ,’ नूतनले भनिन् । उनले फिल्म सुटिङ मिति तय नभएको जानकारी गराईन् ।

बर्कली स्कूल अफ म्युजिकबाट संगीतमा ग्रयाजुएसन गरेका दीप प्रधान नेपाली फिल्ममा काम गर्न उत्साहित रहेको बिनोद प्रधानले बताए । ‘दीप नेपाली फिल्ममा काम गर्न पाएकोमा एकदमै उत्साहित छ । उसले मेहनत पनि धेरै गरेको छ,' पिता विनोदले भने- 'नेपाल प्रति उसको माया देखेर मलाई पनि गर्व लाग्छ । फिल्मका ६ गीतमा शब्द रचना रमण घिमिरको रहनेछ । करियोग्राफी बसन्त श्रेष्ठले गर्नेछन् ।

केहि सिमित फिल्मकर्मी तथा सञ्चारकर्मीको उपस्थिती रहेको उक्त कार्यक्रममा निर्देशक प्रधानका सहकर्मी निर्देशक तुलसी घिमिरेले निर्माण युनिटलाई सफलताको शुभकामना दिए । उनले शम्भु आफ्नो निकै निकटको साथी समेत रहेको बताए । स्मरण रहोस्, कुनै बेला तुलसी र शम्भु एकअर्काका दुस्मन मानिन्थे । अहिले भने नेपाली फिल्म क्षेत्रका यि तारा एउटै परिवार जस्तो भएका छन् । 'हामी एकअर्काको डाह पनि गर्छौं र उत्तिकै मिल्छौं पनि,' तुलसीले भने ।

