प्रेमिका सपना भण्डारीसँग बैशाखमा लगनगाँठो कस्ने तयारी गरेका अभिनेता आर्यन सिग्देलले यहि कार्तिकमा हनिमुन मनाउँदै छन् । रियल लाईफमा बिहे पश्चात हनिमुन मनाउने आर्यनले कार्तिकमा भने रिलमा हनिमुन मनाउन लागेका हुन् ।
केही साता अघि सपना भण्डारीसँग औंठी साटेर हनिमुन मनाउने योजना बनाउँदै गरेका अभिनेता आर्यन सिग्देल अभिनित फिल्म मधुमास (हनिमुन) शुक्रबार (कार्तिक ८ गते) देखी अल नेपाल प्रदर्शनमा आउँदैछ । मोफसलका केही मेजर स्टेशनमा हिन्दी फिल्मको प्रभाव नहुने गरी कार्तिक १५ मा रिलिज गरिने निर्माता बाबुराम दाहालले जानकारी गराएका छन् । फिल्म काठमाण्डौका १७ र मोफसलको आधा दर्जन पर्दामा प्रदर्शन हुनेछ ।
रेखा फिल्मस्को किस्मतबाट चक्लेटी हिरोको छवि बनाउँदै रजतपटमा प्रवेश गरेका अभिनेता आर्यन सिग्देलले एक दर्जन भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । हाउसफुल टेलिफिल्मका आर्यन अभिनित किस्मत सहित हिफाजत र कस्ले चोर्यो मेरो व्यापारिक रुपमा सफल फिल्म हुन् । यी फिल्ममा बोलचाल बन्द भएकी अभिनेत्री रेखा थापा अपोजिटमा थिइन् ।
सुदर्शन थापाको डेव्यु निर्देशन रहेको मेरो एउटा साथी छ व्यापारिक रुपमा अब्बल रहेन । तर, अभिनेत्री नम्रता श्रेष्ठसँग आर्यनको जोडीलाई युवा दर्शकले अत्याधिक रुचाए । त्यसपछि आर्यन अभिनित कुनै पनि फिल्म व्यापारिक रुपमा सवल देखिएका छैनन् । आर्यनले निकै आशा राखेको आइ एम सरी होस् या धुवाँ यो नशा नै, यी लगायतका आर्यन अभिनित फिल्म व्यापारमा सुरक्षित छैनन् । फिल्म नचले पनि आर्यन भने चलि नै रहेका छन् ।
हाल आर्यन होम प्रोडक्सनको फिल्म नोभेम्वर रेन निर्माणको क्रममा छन् । दिनेश राउतले निर्देशन गरिरहेको फिल्ममा नम्रता श्रेष्ठ आर्यनको अपोजिटमा छिन् । आर्यनको करिअरमा सफल फिल्मको लिस्ट प्लस गर्न पनि मधुमास चल्नु पर्ने वाध्यता छ । साथमा सुदर्शन थापाको लागी पनि । मेरो एउटा साथी छ, के यो माया हो, मेरो लभ स्टोरी पछि सुदर्शन निर्देशित र लगानी समेत रहेको धन्दा व्यापारिक रुपमा बलियो देखिएका छैनन् । सस्पेन्स थ्रिलर लभ स्टोरीको फिल्म मधुमासले वम्परको व्यापार गरोस् शुभकामना !
फिल्ममा आर्यनसँगै पूजा शर्मा, मनोज आरसी, शिवाङ्गीनि राणाको मुख्य अभिनय छ । संगीत सुरेश अधिकारी दिएका छन् । लगानी निर्देशक थापा र बाबुराम दाहालको संयुक्त हो । मधुमाससँगै देशका पर्दामा वार पनि प्रदर्शन हुँदैछ । मुकुन्द भट्ट निर्देशित वारमा निता ढुङ्गाना, कृष्ण भट्ट लगायतको मुख्य अभिनय छ । फिल्म भट्ट ग्रुपको लगानीमा निर्माण भएको हो । मुधमास मल्टीप्लेक्स र वार सिङगल स्टेशन केन्द्रित फिल्म हुन् ।

