तोकेको समयमा फिल्मी कार्यक्रम विरलै हुने गर्दछन् । ढिला गरी सुरु हु्ने कार्यक्रममा वत्ताले लामो समय नेता शैलीमा बोलिदिंदा कार्यक्रम पट्यारलाग्दो नहुने कुरै भएन । कार्यक्रममा दुई शब्द राख्ने अवसर पाएका वत्ताले समयको ख्याल नगरी बोलिरहंदा केही त कार्यक्रमबाटै उठेर हिंडिसकेका हुन्छन् । हरेक जसो कार्यक्रममा यस्तै हुने गर्दछ ।
नेपाल उपकरण व्यवसायी संघका अध्यक्ष डिग खड्काको लामो मन्तव्यबाट पट्यार लाग्दो बनेको छायाँकार विनोद प्रधान सम्मान कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजुकमार राईले भने राम्रै पाठ पढाए । दशैं अगाडी 'वान वे' फिल्मको सुटिङ सकाएका अध्यक्ष राई खड्का जति लामो समयसम्म भने बोलेनन् । तर, बोले जति पूरै समय उनले अनुशासनको पाठ सिकाउन मै खर्चिए ।
बोल्दै गर्दा कार्यक्रममा सहभागी बिच भएको कानेखुसीलाई लक्षित गर्दै अध्यक्ष राईले माइकमा बोले- 'पहिला तपाई अरुलाई सम्मान गर्न सिक्नुस् । त्यसपछि तपाईले सम्मान पाउनुहुनेछ ।' उनले थपे- 'कसैलाई सम्मान गरिंदै छ भने त्यसको महत्वलाई पनि बुझ्ने गर्नुस् । विचमै उठेर हिड्ने, हल्ला गर्ने नगर्नुस् ।
कार्यक्रममा बोल्ने अवसर पाउने वित्तिकै अध्यक्ष राई यसरी नै पड्किने गर्दछन् । कार्यक्रम पट्यार लाग्दो भएपछि केही हल्ला त कसो नहोला र अध्यक्ष ज्यू ? कार्यक्रम समयमै सुरु गरेर छोट्याउने सल्लाह पनि दिने कि ? हल्ला गर्नेहरूले पनि कार्यक्रमको महत्व बुझ्ने पो हो कि ?

