नेपाल चलचित्र प्राविधिक संघले छायाँकार विनोद प्रधानलाई मानार्थ सदस्यता प्रदान गर्दै सम्मान गरेको छ । नयाँ वानेश्वरस्थित अल्फा विटा हाउसमा फिल्मकर्मीका बिच औपचारिक कार्यक्रम गर्दै संघले नेपाली तथा बलिउड फिल्मका वरिष्ठ छायाँकार प्रधानलाई मानार्थ सदस्यता र ताम्रपत्र सहितको सम्मान पत्र प्रदान गरेको हो ।
सम्मानित छायाँकार प्रधानलाई नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले भादगाउँले टोपी लगाइदिए । वरिष्ठ निर्देशद्धय तुलसी घिमिरे र शम्भू प्रधान, कलाकार वसुन्धरा भूषाल, कृष्ण मल्ल, छायाँकार बैकुण्ठ मास्के लगायतले छायाँकार प्रधानलाई बधाई दिंदै प्राबिधिक संघमा स्वागत गरे ।
मानार्थ सदस्यता तथा सम्मान ग्रहण पश्चात भावुक बनेका प्रधानले भने- 'यो सम्मानबाट म खुसी छु । प्राविधकको संरक्षण र सम्मान गर्ने प्राविधिक संघलाई धन्यवाद ।' उनी धेरै बोल्न चाहेनन् । नेपाली मुलका भारतीय छायाँकार प्रधानले प्राविधिक संघलाई धन्यवाद दिए ।

कुसुमे रुमाल र लाहुरे फिल्ममा छायाँकार प्रधानसँग काम गरेका निर्देशक घिमिरेले भने- 'विनोद हिंडेको बाटो सजिलो थिएन, जति अहिलेका प्राविधिकलाई हिंड्न सजिलो छ ।' तुलसीले विनोदलाई नजिकबाट चिनेको भन्दै प्राबिधिक संघले सदस्यता बनाएपछि विनोद नेपालसँग सधैं जोडिएको बताए । तुलसीले अहिलेका नेपाली छायाँकारलाई विनोद जस्तै बन्न शुभकामना पनि दिए ।

यस्तै बाल्यकालदेखि विनोदसँगै हुर्केर सँगै पढेका निर्देशक शम्भु प्रधानले भने- 'विनोद साँच्चिकै मेहनती मान्छे हो । उसको सफलताको राज नै कडा परिश्रम अनि काम प्रतिको लगनशिलता हो ।' यस्तै उनले विनोदसँग विताएका र विनोदले भोगेका रमाईला किस्साहरू सुनाएका थिए । शम्भुले आफ्ना किस्सा सुनाउँदा विनोद हल्ला लाज मान्दै मुस्कुराएका देखिन्थे ।

प्राविधिक संघका अध्यक्ष मनोज केसीले विनोद प्रधान जस्ता वरिष्ठ छायाँकारलाई मानर्थ सदस्यता र सम्मान गर्न पाउनु गर्वको कुरा रहेको बताए । तिहार पछि हुने नेफ्टा अवार्डको तयारीमा रहेका अध्यक्ष केसीले भने- 'विनोद प्रधानबाट नेपालका प्राविधिकले नयाँ कुरा सिकुन् भन्ने हाम्रो चाहना हो ।'

यसै साता मुम्बईबाट काठमाण्डौ ल्यान्ड भएका विनोद प्रधानले प्राविधिका सम्बन्धमा वर्कसप समेत सञ्चालन गरेका थिए । दार्जेलिङमा जन्मिएका छायाँकार प्रधानले कुसुमे रुमाल, लाहुरे, सम्झना, तृष्णा, सपना जस्ता नेपाली फिल्म खिचेका छन् । विनोद प्रधान परिन्दा, देवदास, खामोस, रङ्दे वसन्ती, मौसम, भाग मिल्खा भाग जस्ता दर्जनौं बलिउड फिल्मका छायाँकार हुन् । उनी बलिउडमा महंगा क्यामेरा पर्सनका रुपमा परिचित छन् ।

