दशैं अवधीभर हिन्दुको भान्छामा माछा मासु, मिठाइ, फलफुल, दुध दही जस्ता खाद्यान्न दिनहुँ तयार हुने गर्दछ । दैनिक पौष्टिक आहारयुत्त खाद्यान्न भएपछि शरीरको वजन नबढ्ने कुरै भएन ।
दुब्लो शरीर भएकाहरुको लागी वजन उच्च पार्न गतिलो चाड मानिएपनि पर्दामा देखिने कलाकारको लागी भने दशैं चिन्ता लिनु पर्ने जस्तो देखिएको छ । विशेष गरी महिला कलाकारहरु मोटाइने डरले दशैंमा पोसिलो खानेकुरा डराइ डराइ खाने गर्दछन् ।
वर्ष २०७० को दशैं अभिनेत्री सुमिना घिमिरेले नेपाल र कतारमा आधा आधा मनाइन् । प्रदर्शनरत फिल्म स्टारकी अभिनेत्री सुमिना कतार काठमाण्डौ गर्दा झन्डै २ केजी मोटाइछन् । सुमिना सुनाउँछिन्- 'दशैंमा मासु धेरै खाइयो । त्यसैले मोटाएछु ।' तर, सुमिनाले बढेको वजनलाई कम गर्ने बताइन् । भन्छिन्- 'वजन कम गर्न जिम जिन्दावाद ।'

अभिनेत्री सुमिना घिमिरे
आमा अभिनेत्री अरूणिमा लम्साल भने दशैंमा दुब्लाइछन् । राजधानीमा घर माइतीको परिवारसँग दशैं मनाएकी अरूणिमाले झन्डै आधा केजी वजन कम भएको बताइन् । अरूणिमा कसरी दुब्लाइन् ? भन्छिन्- 'दशैंमा खानेसँगै काम पनि बढी भयो । छोरीको प्ले ग्रुप छुट्टी पनि भएकाले धेरै धपेडी भयो ।'
अरूणिमाले चार वर्ष देखी खसीको मासु खान छोडेको समेत बताइन् । फिल्म पीपल रिलिजको पर्खाइमा रहेकी अरूणिमा छोरी जन्माए पछि पनि स्लिम छिन् । फिल्मी जम्काभेटमा अरूणिमाको स्लिम शरीरलाई लिएर राम्रै चर्चा हुने गर्दछ ।

अभिनेत्री सरिता गिरी
त्यस्तै रंगमञ्च सँगै फिचर फिल्ममा व्यस्त अभिनेत्री सरिता गिरी पनि दशैंमा मोटाउनुको साटो दुब्लाइन् । फुलपातीसम्म 'लाटोकोसेरो' नामक फिल्मको दिनरात सुटिङले सरिता दुब्लाएकी रै'छिन् । भन्छिन्- 'चार केजी तौल घटाएकी छु ।' सरिताले योजनावद्ध रुपमै तौल घटाएको बताइन् । आउने फिल्म 'जनैको साँचा'को लागी सरिताले तौल घटाएको बताइन् ।
अभिनेत्री नन्दिता केसीलाई भने दशैंको खान्कीले कुनै असर गरेन । भर्खर घरबाट राजधानी फर्किएकी नन्दिता भन्छिन्- 'माछा मासु खाए पनि शरीरिक अभ्यास गर्न छाडिन् । त्यसैले शरीर फिट छ ।'

