नेपाली मुलका भारतीय छायाँकार विनोद प्रधानलाई नेपाल चलचित्र प्राविधिक संघले मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र संघको बागबजार कार्यालयमा बसेको कार्यसमिति बैठकले छायाँकार प्रधानलाई मानर्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाली तथा बलिउड फिल्म खिच्दै आएका छायाँकार प्रधानलाई मानार्थ सदस्यता सहित सम्मान गरिने अध्यक्ष मनोज केसीले जानकारी दिए । अध्यक्ष केसीले फिल्मीखबर समक्ष भने- 'उहाँको योगदानको कदर गर्दै मानार्थ सदस्यता सहित सम्मान प्रदान गर्न लागेका हौं ।' यसअघि संघले कलाकार बसुन्धरा भूषाल, गेहेन्द्र धिमाल, वैकुण्ठ मान मास्के, श्याम मोहन श्रेष्ठ र मञ्जु कुमार श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरेको छ ।
नेपाली फिल्म सम्झना, लाहुरे, कुसुमे रुमाल, तृष्णा, सपना सहित देवदास, खामोस, भाग मिल्खा भाग, मौसम, परिन्दा, रंग दे बसन्ती गरी दुई दर्जन भन्दा बढी बलिउड फिल्म खिचेका छायाँकार प्रधानको सम्मानमा प्राविधिक संघले कार्तिक ७ गते औपचारिक कार्यक्रम समेत राखेको छ । फिल्म सम्वद्ध विशिष्ट व्यक्तित्वका विच छायाँकार प्रधानलाई मानार्थ सदस्यको पद र ताम्रपत्र सहितको सम्मान प्रदान गरिने अध्यक्ष केसीले बताए ।
लामो समयदेखि मुम्बईमा रहँदै आएका छायाँकार प्रधान यही साता काठमाडौं भित्रिएका छन् । उनले कार्तिक ६ गते नेपाली फिल्मकर्मीका बिच एक अन्र्तक्रिया कार्यक्रम समेत चलाएका थिए ।

