अमेरिकामा फिल्म सम्बन्धी कोर्ष गरेर नेपालमा फिल्म निर्देशन गर्न आएका पासाङ लामाले आफ्नो फिल्मको नाम 'झिग्राना' राखेका छन् । मंगलबार राजधानीमा मुहर्त गरिएको उक्त फिल्म सस्पेन्स थ्रीलर रहेको निर्देशक लामाले बताए ।

ठाँउको नामबाट फिल्मको नाम जुराएको जानकारी दिंदै निर्देशकले फिल्मको बारेमा भने- 'एउटा एनजीयोमा काम गर्ने ७ जना पात्रको सस्पेन्स कथा हो ।' आजैबाट सुटिङ शुरू गरिएको यो फिल्ममा शान्ति गिरी, मेनुका प्रधान, निकुन श्रेष्ठ, ज्योती कार्की, दिवाकर पिया, हाना जेस्वेस्की लगायतले अभिनय गर्दैछन् ।

निर्देशक स्वयंकै कथा रहेको यो फिल्मको पटकथा तथा संवाद सञ्चारकर्मी अच्युत कोईरालाले तयार पारेका हुन् । ३० दिनको सुटिङ सेड्यूल निकालेर फ्लोरमा गएको यो फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिच्नेछन् । फिल्मका निर्माता सन्तोष शाही, निभ प्रधान र निर्देशक लामा स्वयं हुन् ।

शुरूमा निर्माण युनिटले 'खप्तड' नाम राखेर फिल्म बनाउने तयारी गरेका थिए । नाम परिवर्तन किन गरियो ? निर्देशक भन्छन्- 'खप्तडको लोकेशन महंगो पर्ने भएकाले मेकिङमा कम्पमाईज नगरी लोकेशनमा कम्प्रमाईज गर्यौं ।' फिल्मको प्लट पनि ट्रेडिस्नलबाट मोर्डन भएको निर्देशक लामाले बताए ।


