बि.सं. २०६७ सालमा रिलिज भएर सफलता हात पारेको फिल्म 'नाइ नभन्नु ल'को सिक्वेलको रूपमा 'नाइ नभन्नु ल २'को सुटिङ आज सोमबारबाट शुरू गरिएको छ । विकास आचार्यको निर्देशनमा अभिनेता तथा चर्चित भिजे सुरज सिंह ठकुरी र अभिनेत्री प्रियंका कार्कीले पहिलो टेक दिए ।
पारिवारिक प्रेमकथा बोकेको यो फिल्मलाई निर्देशक आचार्यले स्वयंले वान टाईम सिनेमाको व्यानरमा निर्माण गर्दैछन् । करिब ३५ दिनको सुटिङ सेड्यूल निकालिएको यो फिल्ममा सुरज र प्रियंकाको साथमा जीवन लुईटेल, अनुभव रेग्मी, सुबियानी भट्टराई, सरोज खनाल, सिताराम कट्टेल 'धुर्मुस', सरिता लामिछाने लगायतको अभिनय रहनेछ ।
काठमाण्डौ आसपासमा नै सुटिङ हुने यस फिल्मलाई पुरूषोत्तम प्रधानले खिच्दैछन् । निर्देशक आचार्यकै लेखन, बसन्त सापकोटा र सुरेश गैरेको संगीत रहेको यो फिल्ममा कविराज गहतराजको करियोग्राफी रहनेछ । यसअघि फेरि नाइ नभन्नु ल नाम राखेका विकासले ज्योतिषको सल्लाह बमोजिम नाम परिवर्तन गरेको बताए ।

