हिन्दी फिल्म 'तेरे इश्क में'को टाइटल गीतमा नेपाली पाश्र्व गायिका मनिषा पोखरेलको स्वर रेकर्ड गराइएको छ । सँगै उनले फिल्मको एउटा आइटम गीतमा पनि स्वर रेकर्ड गराएकी छिन् ।
मनिषा र निर्देशक कमलकृष्ण मुम्बई स्टुडियोमा गीत रेकर्ड गराएर केहि दिन अगाडी नेपाल फर्केका छन् । मनिषाको आवाजलाई मुम्बईको स्टुडियोमा उपस्थित फिल्मकर्मीले रूचाएको नेपाली फिल्म 'दश दिनमा दश करोड' निर्देशक गर्ने तयारीमा रहेका कमलकृष्णले बताए ।
फिल्मका सहित करिब ३ सय वटा गीतमा स्वर रेकर्ड गराएकी मनिषाले पनि हिन्दी गीत गाउन आफुलाई कुनै असहज नभएको प्रतिक्रिया दिइन् । रावण फिल्मको 'हात्ती घोडा हैन...' बोलको गीत गाएर चर्चामा आएकी मनिषाले हिन्दी गीत गाउँदाको अनुभव सुनाइन्- 'गीत गाउँदा कुनै अप्ठ्यारो भएन । मैंले राम्रो गाउने कोसिस गरेको छु । मेरो स्वरलाई सबैले मन पराउनु भएको छ । यसले मलाई उर्जा मिलेको छ ।'
मनिषाले गाएको गीतमा सलिन सेनको संगीत छ । पुरुषको आवजमा शाहिद मालियाको स्वर रेकर्ड गराइएको छ । नेपालमा समेत सुटिङ गरिने बताइएको फिल्ममा जम्मा ६ वटा गीत छन् । इर्फान खानको स्वरलाई पनि तेरे इश्क मेंमा सुन्न सकिन्छ । फिल्मको सुटिङ २०१४ को मार्च महिनाबाट सुरु हुने निर्देशक कमलकृष्णले बताए ।

