चुरोट खाएको दृश्यलाई आधार बनाउँदै चलचित्र जाँच पास समितिले आगामी शुक्रबार रिलिज हुने फिल्म 'मधुमास'लाई 'पिजी' सर्टिफिकेट दिएको छ । तर, फिल्म निर्माता बाबुराम दाहालले 'धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ' भन्ने सुचना राख्दा राख्दै पनि 'पिजी' सर्टिफिकेट दिएकोमा आपत्ति जनाए ।
यस्तै निर्माता दाहालले फिल्मका समावेश दुई संवादमा सेन्सरले 'म्यूट' हाल्ने आदेश दिएको बताए । उनका अनुसार 'छोरीको जन्म हारेको कर्म' भन्ने संवादमा 'हारेको कर्म' तथा 'मुत्न जान लागेको' भन्ने संवादमा 'मुत्न' भन्ने शब्दमा 'म्यूट' हाल्नुपर्ने छ । सेन्सरले 'पिजी' सर्टिफिकेट थमाएपछि १६ बर्ष मुनिका बालबालिकाले यो फिल्मलाई आफ्ना अभिभावकको साथमा मात्र हेर्न पाउने छन् ।
सेन्सरले फिल्मको श्रेणी विभाजन गरेपनि प्रदर्शन हुँदाखेरी अनुगमन गरेको उदाहरण भने कमै मात्र देख्न पाईन्छ । यस्तै हिन्दी फिल्ममा लचिलो देखिने सेन्सर बोर्ड भने नेपाली फिल्ममा कडा बन्ने गरेको देखिएको छ । जसले गर्दा फिल्म निर्माण युनिट हतोत्साहित हुने गरेका छन् ।
निर्माता दाहालको गुनासो पोख्छन्- 'फिल्मको कथाले मागेको सिन राख्न पनि डराउनु परेको छ ।' हनिमुन अर्थ बोकेको फिल्म 'मधुमास'मा अन्तरंगका दृश्य खुलेर राख्न नसकेको उनको भनाई छ । 'अन्तरंगका दृश्य राख्यो सेन्सरले काटि दिन्छ,' उनले भने- 'तरपनि हामीले फिल्मको मर्मलाई मर्न नदिई कथाले मागेको दृश्य समावेश गरेका छौं ।'
सुदर्शन थापाले निर्देशन गरेको यो फिल्ममा आर्यन सिग्देल, पूजा शर्मा, शिवाङ्गिनी राणा र मनोज आरसीको मुख्य भुमिका छ । फ्राईडे फिल्मसको व्यानरमा सुदर्शन र बाबुरामले मिलेर फिल्म निर्माण गरेका हुन् ।

