मंसिर ४ को संविधान सभाको चुनावलाई मुख्य कारण बनाउँदै फिल्म अधकट्टीको सुटिङ पोस्टपोन्ड गरिएको छ । दशैं सेलिव्रेसन पछि चितवनबाट सुटिङ सुरु गर्ने भनिएकोमा मंसिरको पहिलो साताबाट मात्रै सुटिङ थालिने निर्माता प्रदिप कुमार उदयले जानकारी दिए ।
एमाओवादी सम्वद्ध निर्माता उदय गृह जिल्ला वुटवल क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्न लागेका एमाओवादी नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइको समर्थनमा जुटेका छन् । यहि कारणले गर्दा पनि प्रदिपले सुटिङलाई समय निकाल्न सकेका छैनन् । अधकट्टी डेव्यु सञ्चारकर्मी निर्देशक सुव्रत आचार्यले फिल्मको ८० प्रतिशत प्रि-प्रोडक्सन तयारी पूरा भैसकेको बताए ।
निर्देशक आचार्यले भने- 'चुनाव अघि विभिन्न दलको बन्दले सुटिङलाई प्रभाव पार्ने हुनाले सुटिङ पछि सारिएको हो ।' फिल्मका मुख्य कलाकार गौरव पहारी फिल्म उत्सवको सुटिङ र विल्सन विक्रम राई विदेश भ्रमणमा व्यस्त रहेकाले पनि अधकट्टीको सुटिङ तत्काल हुन नसकेको उनले बताए ।
फिल्ममा गौरव र विल्सनको साथमा प्रदिप वाँस्तोलाले मुख्य भुमिका निभाउँदै छन् । अभिनेत्री नम्रता श्रेष्ठले आइटम डान्स गर्दैछिन् । कलाकार निर्मल शर्मा र निर्देशक दिनेश डिसीलाई फिल्ममा अतिथि भुमिकामा देख्न पाइनेछ । फिल्म खेल्ने बारे होस्टेल डेव्यु रिस्ता बस्नेतसँग मौखिक सहमती भएको निर्माता उदयले बताएका छन् ।

