छविराज प्रोडक्सनको दोस्रो प्रस्तुती फिल्म 'लज्जा'को शुभ साइत गरिएको छ । बिहान कमलादी स्थित गणेशस्थान मन्दिरमा निर्माता छवि ओझा र निर्देशक नवल नेपालले फिल्मको सफलताको कामना गर्दै पूजाआजा गरे ।
कालीको बम्पर व्यापारबाट हर्षित छविले लज्जाको सुटिङ भने तिहार पश्चात मात्रै सुरु हुने बताए । फिल्मका मुख्य पात्र आर्यन सिग्देल आफ्नै फिल्म नोभेम्वर रेनमा व्यस्त भएपछि लज्जाको सुटिङ दशैंबाट तिहार पछि सरेको हो । प्रेमकथाको फिल्ममा अभिनेता सिग्देलसँगै शिल्पा पोखरेल मुख्य भुमिकामा देखिदै छिन् । म्यूजिक भिडियो मोडल शिल्पा लज्जाबाट नायिकाको रुपमा डेव्यु गर्दैछिन् ।
लज्जामा निर्माता ओझाको कथा र निर्देशक नेपालको पटकथा एवम् संवाद छ । चेतन सापकोटाको संगीत रहेको फिल्ममा चन्द्र पन्तको फाइट र मदन कास्यप घिमिरेको क्यामेरा हुनेछ । मंसीर २१ गते लोफर रिलिजको तयारीमा रहेका निर्माता ओझाले लज्जालाई भने नेपाली नयाँ वर्षमा प्रदर्शन गर्ने लक्ष्य राखेका छन् ।

