अहिलेको नेपाली फिल्मको बिग्रंदो अवस्थाको बारेमा बुढो बाघको नामले चिनिएका अभिनेता शिब श्रेष्ठले निकै चिन्ता व्यक्त गरे । उनले फिल्म नचल्नुको बिषयमा जिज्ञासा राख्दै फिल्मीखबर समक्ष आफ्ना अनुभव पनि साटे ।
आईतवार साँझ फिल्मीखबरसँगको कफी गफमा शिबले फिल्मकर्मी प्रोफेस्नल नहुँदा अहिलेको अवस्था आएको बताए । आफ्ना पालामा हरेक कलाकार प्रोफेश्नल हुने गरेको अनुभव साट्दै शिबले भने- 'अहिलेका कलाकारमा मेहनतको अभाव देखेको छु ।' फिल्म राम्रो नराम्रो बनाउने हात निर्देशकको भन्दै शिबले अहिलेका निर्देशकका धेरै कमजोरी पाएको उनको बुझाई छ ।
'जबसम्म निर्देशक नै प्रोफेश्नल हुँदैनन् तबसम्म्म फिल्म गतिलो बन्दैन', शिबले थपे- 'कलाकारले पनि आफ्नो जिम्वेवारी पूर्णताका साथ निर्वाह गर्नुपर्छ ।' जीवन रेखा फिल्मको सुटिङका बेला १५ मिनेट ढिला पुग्दा पनि निर्देशकको गाली खानु परेको स्मरण गर्दै शिव सुनाउँछन्- 'अहिलेका कलाकारलाई समयको महत्व कम बुझेको मैले पाएको छु ।'
आफैले निर्माण गर्ने भनेको फिल्म 'खुकुरी कान्छी'को प्रि-प्रोडक्सनको काम शुरू गरेका शिबले सन् २०१४ को शुरूवातमा सुटिङ शुरू गर्ने बताए । किन निर्माणमा ढिला ? भन्ने प्रश्नमा उनले प्रस्ट्याए,' अहिले धेरै निर्माताहरू जागिरहेका छन् । जब सबै सुत्छन् तब म जाग्छु ।'
अरू सुतेको बेला जो जाग्छ त्यो नै विजेता हुने शिबको बुझाई छ । यो त डराए जस्तो भएन र ? उनी भन्छन्- 'विजनेशमा यसलाई डर भन्दैनन्, पोलिसी भन्छन् ।' 'खुकुरी कान्छी'लाई एक्सन ड्रामा शैलीमा निर्माण गर्ने शिवको भनाई छ । फिल्मका कास्ट एण्ड क्रु छनोट प्रक्रियामा नै रहेको उनले जानकारी गराए ।

