कार्तिक १ गते देखी प्रदर्शनमा आएको फिल्म स्टारको सुरुवाती व्यापार मध्यम रहेको निर्माता लक्ष्मण सुवेदीले जानकारी दिएका छन् । निर्माता सुवेदी भन्छन्- 'हेर्ने जतिले फिल्मलाई रुचाएका छन् । दर्शक बढ्ने आशा छ ।'
महेन्द्र बुढाथोकी निर्देशित फिल्म चालिस लाखमा निर्माण भएको हो । लगानी कसरी उठ्छ त ? निर्माता सुवेदी भन्छन्- 'देश तथा विदेश प्रदर्शनबाट फिल्मको लगानी रिकभर गर्ने हाम्रो योजना छ ।' मोफसलका अधिकांश हलमा फिल्म यही ८ गते देखि रिलिज हुने समेत उनले बताए ।
नेपाली फिल्म क्षेत्रमा स्टार हुने चाहना राख्ने युवतीको कथालाई विषय बनाइएको स्टारमा सुमिना घिमिरेको मुख्य भुमिका छ । साथमा निरज बराल, श्याम घिमिरे, गणेश उप्रेती, रमेश बुढाथोकी लगायतको अभिनयलाई देख्न सकिन्छ । फिल्ममा मनिषा पात्र (सुमिना घिमिरे) ले बोलेको द्धअर्थी संवाद र वोल्ड दृश्यका कारण स्टार प्रदर्शन अगाडी मिडियाको मसला बनेको थियो । पिजी प्रमाणप्रत्र पाएको यो फिल्मलाई १६ वर्ष भन्दा मुनिका बालबालिकाले हेर्न पाउने छैनन् ।

