भर्खरै दशैंको ह्याङबाट पार पाएका दर्शकहरूलाई निर्देशक सुदर्शन थापाले कार्तिक ८ गते अर्को चाड आएको भन्दै दर्शकलाई सेलिब्रेट गर्न भने । शनिबार साँझ राजधानीमा एक प्रेस भेटघाटको अवसरमा सुदर्शनले फिल्मीखबर समक्ष भने- 'हाम्रो लागि कार्तिक ८ पनि महान चाड हो ।'
आफूले निर्देशन गरेको फिल्म 'मधुमास'को रिलिजलाई लिएर सुदर्शन निकै उत्साहित छन् । 'यो फिल्मबाट धेरै आश गरेको छु,' सुदर्शनले भने- 'मेहनत पनि धेरै नै गरिएको छ ।' उनले फिल्म राम्रो बनाएपनि दर्शक माथी भर पर्नु परेकोले दर्शकलाई भगवान सरहको दर्जा दिए । निर्माता बाबुराम दाहालले पनि हरेक पक्षबाट आफ्नो फिल्म राम्रो बनेको बताए ।
भर्खरै मात्र प्रेमिका सपना भण्डारीसँग इन्गेजमेन्ट गरेका अभिनेता आर्यन सिग्देलले 'मधुमास'को प्रतिक्रिया लिन आफू आतुर रहेको बताए । निकै हर्षित मुद्रामा देखिएका आर्यनको अनुहारले नै बताउँथ्यो उनी अहिले निकै खुसी छन् । एकातिर प्रेमिकासँग बैबाहिक बन्धनमा बाँधिने तयारी अर्को तर्फ 'हनिमुन' अर्थ बोकेको फिल्म रिलिजको तयारी ।
अभिनेता आर्यन सिग्देल, अभिनेत्रीद्धय पूजा शर्मा, सिवाङ्गिनी राणा र मनोज आरसी स्टारर रोमाण्टिक ड्रामा शैलीको 'मधुमास'लाई बाबुराम दाहाल र निर्देशक थापाले निर्माण गरेका हुन् । फिल्ममा दिनेश न्यौपानेको लेखन, सुरेश अधिकारीको संगीत, दीपक बज्राचार्यको छायाँकन, रेनशा राईको करियोग्राफी र हिमाल केसीको द्धन्दनिर्देशन छ ।




