असोज २५ बाट देशभर प्रदर्शनमा आएको फिल्म कालीले देशभरका हल संगै पुर्वका हलमा समेत उत्साहजनक व्यापार गर्न सफल भएको छ । देशका करिब ८० हल संगै पुर्वको एक दर्जन हलमा यतिबेला काली प्रदर्शन भैरहेको छ ।
फिल्म लागेको हलका संचालकले करिब ५ वर्ष पछि आफ्नो हलमा दशैंमा रिलिज भएको फिल्मले राम्रो व्यापार गरेको जानकारी गराए । त्यसो त अन्य वर्षमा टिकाको दिन देखि फिल्मको व्यापार बढ्ने भए पनि कालीले रिलिज भएको फूलपातीको दिन देखि नै हलमा दर्शक तानिरहेको उनीहरुले बताए । काली पुर्वको धरान, दमक, बिर्तामोड, पथरी, बेलबारी, धुलाबारी, बिराटनगर, भद्रपुर, चक्रघट्टी लगायतका स्टेसनमा प्रदर्शन भैरहेको छ ।
मेजर स्टेसन मध्य दमकको पाथिभरा हलमा फिल्मको व्यापार सबैभन्दा उत्साहजनक रहेको छ भने सानो स्टेसनको रुपमा रहेको पथरीको कन्चन टाकिजमा समेत हरेक दिन फिल्मले ५० हजार माथिको कलेक्सन गरिरहेको जानकारी वितरक चैतन्य बरालले गराए । दमक स्थित पाथिभारा चित्र मन्दिरमा हरेक दिन फिल्मको कलेक्सन १ लाख माथि रहेको उनले बताए ।
टिकाको दिन खराब मौसमको कारणले मात्रै व्यापार बिग्रिएको र अरु दिन फिल्म हेर्न आउने दर्शकको कमी नभएको चैतन्यको भनाई छ । स्थलगत रिपोर्टिंगको क्रममा पाथिभारा चित्र मन्दिर पुग्दा फिल्म हेर्ने दर्शकको भिड सो सुरु हुनु १ घण्टा अगाडी नै हलमा लागेको देखिन्थ्यो । धरानको गणेश टाकिज, बिर्तामोडको कृष्ण टाकिजमा समेत फिल्मको कलेक्सन राम्रो रहेको छ ।
यस्तै देशका अन्य हलहरूमा पनि कालीको व्यापार राम्रो रहेको निर्माता छबिराज ओझाले बताए । 'दशैंमा फिल्म चल्दैन भन्ने चलनलाई कालीले तोडेको छ,' छबिले भने- 'राम्रो फिल्म बनाउने हो भने जुनसुकै समयमा पनि फिल्म राम्रोसँग चल्छ । उनले आगामी मंसिर २१ गते रिलिज हुन लागेको आफ्नै व्यानरको फिल्म 'लोफर'ले पनि दर्शक तान्ने बिश्वास व्यक्त गरे ।

