आगामी पुष २६ गते दुई ठूला फिल्मको भाले लडाईं हुने भएको छ । हाँस्यकलाकार समूहले निर्माण गरेको 'छ एकान छ' र 'बाटो मुनिको फूल' फिल्म निर्माण टिमको 'वितेका पल' विच भिडन्त हुन लागेको हो ।
तितो सत्य नामक हाँस्य टेलिफिल्ममा आफ्नो छुट्टै पहिचान बनाएका दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्मा 'गैंडा' को टिमले बनाएको कमेडी फिल्म 'छ एकान छ'लाई दिनेश डिसीले निर्देशन गरेका हुन् । पोस्टप्रोडक्सनको अन्तिम चरणमा पुगेको यो फिल्ममा दिपकराज गिरी, सिताराम कट्टेल 'धुर्मुस', शिवहरी पौडेल, केदार घिमिरे 'माग्नेवुढा', जितु नेपाल 'मुन्द्रे', निर शाह, सन्दिप क्षेत्री र निता ढुंगानाको साथमा राजबल्लभ कोईरालाको अभिनय हेर्न सकिन्छ ।
यता बाटो मुनिको फूलका निर्माता राजेश घतानीले निर्माण गरेको 'वितेका पल'लाई सुरज सुब्बा 'नाल्बो'ले निर्देशन गरेका हुन् । लभ स्टोरी श्रेणीको यो फिल्ममा केकी अधिकारी, बाबु बोगटी र अबिनाश गुरूङको त्रिकोणात्मक प्रेमकथा हेर्न सकिन्छ । बिग प्रोडक्सन हाउसको व्यानरमा बनेको यो फिल्मका निर्माता कृष रिजाल पनि हुन् । दार्जिलिङमा सुटिङ गरिएको यो फिल्म पनि पोस्टप्रोडक्सनको अन्तिम चरणमा छ ।

फिल्म रिलिजको बिषयलाई लिएर छ एकान छ फिल्मका निर्माता निर्मल शर्मा भन्छन्- 'म जुध्ने, लड्ने, भिडन्त जस्ता शब्द प्रयोग गर्न चाहन्न । हाम्रो चाहना फिल्म जुधोस् भन्ने छैन । त्यसैले हामी आपसी छलफल गरेर मिलाउने प्रयास गर्नेछौं ।' उनले सुटिङ ताका नै हल बुकिङ गरिसकेकाले पौष २६ गतेबाट पछि हट्न नसक्ने बताए ।

यता वितेका पलका निर्माता राजेश घतानीले पनि पौष २६ गतेका लागि हल बुकिङ भईसकेको बताए । 'पूर्व र पश्चिमका राम्रा हल हामीले बुकिङ गरिसकेका छौं,' राजेशले भने- 'राजधानीका हल पनि मिलाउँदै छौं ।' राजेशले पनि निर्धारित मितिमा नै फिल्म रिलिज गर्ने बताए ।
यो अडानले दुवै निर्मातालाई फाईदा पक्कै पुर्याउने छैन । हामी पनि चाहन्छौं फ्ल्प फिल्मको सुचीमा यि प्रतिक्षित फिल्मको नाम नथपियोस् ।

