अभिनेत्री निशा अधिकारीले नयाँ फिल्म पाएकी छिन् । सर्वोच्च शिखर सगरमाथाको सफल आरोही निशा फिल्म मुखैटाका लागी अभिनेता अर्पण थापाको अपोजिट हुने गरी अनुबन्धित भएकी हुन् ।
मुखैटाका कथाकार समेत रहेका अर्पणले अभिनेत्री अधिकारी अनुबन्धित भएको जानकारी दिए । अर्पणले भने- 'निशाजीलाई हाम्रो टिमले अनुबन्धित गरिसकेको छ । केही सातापछि वर्कसपमा जान्छौं ।' फिल्मलाई रिफ इन्टरनेटमेन्टले निर्माण गर्दैछ । रविन श्रेष्ठ निर्माता रहने फिल्मको निर्देशक भने अफिसियल रुपमा घोषणा गरिएको छैन । फिल्मलाई अभिनेता अर्पण थापाले नै निर्देशन गर्ने चर्चा छ । यद्पी उनी फिल्म निर्देशन गर्ने बारे गोप्य हुन चाहे ।
निशा र अर्पणको साथमा रविन तामाङ् मुखैटामा फाइनल भएका छन् । यसअघि मुखैटामा देखिने चर्चा चलेकी नम्रता श्रेष्ठ भने व्यस्तताले गर्दा हुन नसकेको जानकारी छ । फिल्ममा अन्य प्रमुख दुई पात्र फाईनल हुन बाँकी रहेको अर्पणले बताए । अर्पण र प्रतिक गुरुङको मुखैटाको स्क्रिप्ट राइटर हुन् । जनवरी १५ तारिखदेखी फ्लोरमा जाने फिल्ममा नरेन्द्र मैनाली क्यामेरा पर्सन र चन्द्र पन्त फाईट डिरेक्टरको रुपमा रहनेछन् । फिल्म एक्सन शैलीमा हुने बताइन्छ ।

