असोज २५ गते अर्थात फुलपातीमा देशका फिल्म हल काली र दामिनीमय हुँदैछन् । काली र दामिनीको प्रदर्शनलाई लिएर यतिबेला फिल्म बजार गर्माएको छ ।
रेखा थापा स्टार काली र विराज भट्टको साथमा रेखा थापाको अतिथि भुमिका रहेको दामिनीको हल व्यवस्थापनलाई लिएर निर्माता तथा वितरक बिच राम्रै जुहारी चलेको छ । कालीका कार्यकारी निर्माता छविराज ओझा र दामिनीको नेपालाधिकार लिएका मनोज राठी र वितरक सुनिल मानान्धर एक अर्का विरुद्ध खनिएका छन् ।
नयाँ वर्ष र दशैंको अवसरमा फिल्म प्रदर्शन गर्दै आएका छवि ओझाले कालीले वम्परको व्यापार गर्नेमा आफु ढुक्क रहेको बताएका छन् । शविर श्रेष्ठ निर्देशित काली फिल्म देशका ८१ वटा पर्दामा प्रदर्शन हुने जानकारी दिदैं निर्माता ओझा भन्छन्- 'हिम्मत र हिफाजत पछि रेखा थापा काली फिल्ममा एक्सन रोलमा प्रस्तुत हुनुभएको छ । नारी प्रधान फिल्मलाई दर्शकले मन पराउनेमा ढुक्क छु ।'
दामिनीले कालीको व्यापारलाई असर गर्ला नि ? भन्ने प्रश्नमा छविले भने- 'यसअघि पनि रेखा फिल्मस्सँग फिल्म जुध्न नआएका होइनन् । तर, जुध्ने फिल्मको हालत के भयो ? सबैलाई थाहा भएकै कुरा हो ।' यसअघि रेखा फिल्मस्को अन्दाजसँग मेरो लभ स्टोरी र रावणसँग मृगतृष्णा जुधेका थिए । व्यापारिक रुपमा अन्दाज र रावण माथि देखिए ।

अन्दाज र रावणको उदाहरण दिदैं छविले थपे- 'काली सफल हुनेमा म ढुक्क छु । हामीसँग जुध्ने दामिनीलाई पनि सफलताको शुभकामना । काली फिल्ममा रेखा थापासँगै किशोर खतिवडा मुख्य भुमिकामा प्रस्तुत भएका छन् ।
सुरुमा काली विरतणको जिम्मा लिएर एड्भान्स समेत लिएका मनोज राठीले भने दामिनीको कालीसँग प्रतिस्पर्धा नभएको प्रतिक्रिया दिएका छन् । दामिनी देशका ५० वटा पर्दामा प्रदर्शन हुने जानकारी दिदैं उनले भने- 'फिल्म सफल र असफल हुने दर्शकको हातमा छ । फिल्मले कस्तो व्यापार गर्छ ? दर्शकमा भर पर्छ ।'
काली वितरणको जिम्मा रेखाका पूर्व पति छविले लिएपछि कालीलाई टक्कर दिन मनोज राठी समुहले दामिनीलाई असोज २५ मा रिलिज गर्न व्यवस्था मिलाएको हो । दामिनी र काली मध्ये कुन फिल्ममा दर्शकको ओइरो लाग्ला ? चासोको विषय रहनेछ । दुवै फिल्मलाई सफलताको शुभकामना !

