एक फिल्मी जमघटमा भेटिएका निर्देशक सुदर्शन थापाले यस वर्षको दशैं मदिरायुक्त नहुने बताए । किन मदिराको घनिष्ठ मित्र हुनुहुन्थ्यो र ? जिज्ञासा राखियो । 'मदिारसँग त्यस्तो निकटता होइन । तरपनि जमघट र फुर्सद हुँदा मदिरासँग रमाइलो गरिन्थ्यो,' सुदर्शनले भने ।
जमघट र साथी सर्कलसँग रमाइलो गर्ने माध्यमलाई सुदर्शनले किन छोड्ने निर्णय गरे ? कार्तिक ८ गते प्रदर्शन हुने मधुमास फिल्मका निर्देशक थापाले कारण खुलाए- 'स्वस्थ जीवन बिताउँ भनेर मदिरा नपिउने निर्णय गरें । परिवारबाट पनि नपिउन दबाब थियो ।' सुदर्शनले मदिरा नपिउनुको अर्को कारण पनि खुलाए- 'मेरो मुख्य अभिनय रहने लम्फू फिल्ममा वडीलाई फिट हुन जरुरी छ । बिचमा केही मोटाएको थिएँ । मदिराले मोटाउन सहयोग गर्छ त्यसकारण छोडिदिएँ ।'
विगत चार महिना देखि मदिरा रहित जीवन बिताइरहेका सुदर्शनले दशैंको छुट्टीमा भने फिल्म मधुमासको सम्पादनमा व्यस्त हुने बताए । आर्यन सिग्देल, पूजा शर्मा, मनोज आरसी र सिवाङ्गिनी राणाको मुख्य अभिनय रहेको फिल्मले दर्शकलाई हलसम्म आकर्षण गर्ने सुदर्शनले विश्वास व्यक्त गरे ।
हनिमुन अर्थात मधुमासमा निर्देशक थापा र बाबुराम दाहालको संयुक्त लगानी छ । सुदर्शनलाई प्रश्न सोधियो मदिरा रहित जीवन कहिलेसम्म जिउने ? उनले हाँस्दै जवाफ दिए- 'जहिलेसम्म कन्ट्रोल गर्न सक्छु । तर, मेरो प्रयत्न मदिरा रहित जीवनको हुनेछ ।'

