आगामी शुक्रबार अर्थात फुलपातीको दिन रिलिज हुन लागेको फिल्म 'दामिनी' अभिनेत्री रेखा थापाकै लागि दर्शकले हेर्नुपर्ने अभिनेता बिराज भट्टले बताएका छन् । रेखाले निर्माण गरेको फिल्म 'काली' र 'दामिनी' बिचको लफडा परिरहेका बेला बिराजले आफूलाई भन्दा पनि रेखालाई हेर्न दर्शक हलसम्म जानुपर्ने बताएका हुन् ।
बिराजले बजारमा चलाईए अनुसारको 'दामिनी' भोजपुरी फिल्म मात्र नभई नेपाली फिल्म पनि रहेको बताए । मंगलबार राजधानीमा आयोजना गरिएको प्रेस भेटघाट कार्यक्रममा बिराजले भने- 'यो नेपालमा नै सुटिङ गरिएको र नेपाली कलाकार तथा प्राबिधिक संलग्न भएको नेपाली फिल्म पनि हो ।' लगानी धेरै भएका कारण बजार खोजीका लागि दुई भाषामा फिल्म तयार गरेको बताउँदै बिराजले भने- 'नेपाली फिल्म भनिरहँदा किन बिरोध भईरहेको छ ? बिरोध गर्नुको औचित्य मैले देखेको छैन ।'

दशैं मनाउन र फिल्मको पब्लिसिटी गर्न नेपाल आएका बिराजले आफ्नो फिल्मलाई बिदेशी फिल्म भनेर बिरोध गरिदिंदा निकै दु:ख लागेको बताए । डेढ बर्ष अघि भारतमा चलेर हिट भएको आफ्नो फिल्म 'दामिनी' हेर्न दर्शकलाई उनले आग्रह गरे । उनले दोहोर्याएर भने- 'तपाईं नझुक्किनुस्, यो नेपाली फिल्म नै हो ।'
यस्तै वितरक सुनिल मानन्धरले 'दामिनी' फिल्मलाई रेखाको 'काली'सँग जुधाउन नै ल्याएको बताए । अलि आक्रोशित शैलीमा सुनिलले भने- 'छबिका हरेक फिल्मसँग मैले फिल्म जुधाउँदै आएको छु । सदाका झैं यसपाली पनि मेरो भिडन्त रेखा छबिसँग हुनेछ ।' शुरूमा 'काली' फिल्म मनोज राठी समुहलाई वितरण गर्न दिईएको थियो । पछि छबि ओझाले आफै वितरण गर्ने भनेपछि 'काली' नपाएको झोकमा मनोज राठी समुहले डेढ बर्ष अघि भारतमा चलेको 'दामिनी'लाई नेपाल भित्र्याएको हो ।

यस्तै सुनिलले लाईसेन्स पाएपछि गाडी चलाउनु पाउनुपर्छ भन्ने उदाहरण दिंदै भने- 'सरकारले नै नेपाली फिल्म भनेर रिलिजको अधिकार दिएको छ भने हल्ला किन गर्ने ? चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैतालाई केन्द्रित गर्दै सुनिलले भने- 'थान हेर्न दिएको मान्छे सिमानामा हेर्न थाल्नु भएको छ ।' पप्पुले विश्वज्योती हलमा काली फिल्म रिलिज गर्न दबाब दिएपछि सुनिलले यस्तो अभिव्यक्ति दिएका हुन् । सुनिलले ६ महिनासम्म विश्वज्योती हल आफूले लिएको समेत बताए ।
रिभेन्ज स्टोरी बोकेको फिल्म 'दामिनी'मा रेखा र बिराजको साथमा रानी सहवाज खान, बिनोद मानन्धर, उषा पौडेल लगायतले अभिनय गरेका छन् । यो फिल्मलाई सानु शाक्य र मनोज नारायणले निर्देशन गरेका हुन् । देशका करिब ४० पर्दामा यो फिल्म रिलिज हुने बताईएको छ ।

