दुई सन्तानकी आमा अभिनेत्री संचिता लुइँटेलमा अभिनयको प्यास मेटिएको छैन । अभिनेता निखिल उप्रेतीसँग दोस्रो घरजम गरेकी संचिताले अभिनयमा सक्रिय हुने ध्ययले ६५ केजी वजनको शरीरलाई घटाउने कसरत थालेकी छिन् ।
२ वर्षे छोरा र १ वर्षे छोरी हुर्काउँदै गरेकी संचिताको वजन घटाउने अभिनयान ३ महिनासम्म चल्नेछ । संचिताले भनिन्- 'शरीर फिट भएपछि अभिनयमा सक्रिय हुनेछु ।' तत्काल कुनै पनि निर्माता, निर्देशकबाट अभिनयको अफर भने नआएको उनले बताइन् । ८८ केजीको वजनदार शरीरलाई ६५ केजीमा झारेकी संचिताले फिल्मीखबर समक्ष भनिन्- 'तौल बढ्ने डरले दशैंमा मासु खाँदिन ।'
दशैंमा मासुको सट्टा के खाने त ? संचिताले भनिन्- 'मलाई मिठाइ धेरै मन पर्छ । मासुको सट्टा मिठाइसँगै पनिर खान्छु ।' शरीरको तौल कम गर्न मासु कटौती गरेकी संचितालाई दशैंको कुन पक्षले आकर्षण गर्छ ? भन्छिन्- 'आफन्त बिच हुने जमघट नै दशैंको विशेषता हो ।' यही साता आफ्ना छोराछोरीका लागी दरबारमार्गमा सपिङ गरेकी संचिता सुनाउँछिन्- 'मैले त आफ्नो लागी सपिङ नै गर्न बिर्सिएछु । बच्चा भएपछि उनीहरु नै पहिलो प्राइरेटीमा पर्ने रहेछन् ।'
सानो छंदा नयाँ लुगा किन्न बुवाले दिने गरेको पैसा सम्झिदैं संचिता भन्छिन्- 'फिल्म खेलेर कमाउन सुरु गरेपछि भने बजारमा गएर आफैं कपडा किन्थें ।' दुई छोराछोरी लिएर राजधानीमा बस्दै आएकी संचिताले दशै भने सर्लाही घरमा मनाउने बताइन् । पति अभिनेता निखिल उप्रेती यसै साता मुम्बईबाट नेपाल ब्याक हुने पनि उनले जानकारी दिइन् । बलिउड प्रोजेक्ट निर्देशनको तयारीमा जुटेको निखिलले तिहार पछि सुटिङ सुरु गर्ने बुझिएको छ ।

