अन्य निर्देशकको तुलनामा निर्देशक दिनेश डिसी बोल्नमा केही कदम अगाडी छन् । निर्देशक समाजका अध्यक्ष समेत रहेका डिसी प्रायः सार्वजनिक कार्यक्रममा मन्तव्य दिंदा कडा रुपमा प्रस्तुत हुन्छन् ।
एक कार्यक्रममा अतिथि बनेर पुगेका निर्देशक डिसी बढी नै आक्रोशित देखिए । निर्देशक डिसी यसरी आक्रोशित भए कि कार्यक्रम हलका सहभागिको पूरै ध्यान उनी तिर केन्द्रित भयो । निर्देशक डिसी किन आक्रोशित बने ? उनले कारण खुलाए- 'पत्रकारले न्यूज र गसीप के हो भनेर छुट्याउनु पर्छ । न्यूज र गसीप नछुट्याउँदा मैले निकै तनाव झेल्नु पर्यो ।'
गत महिना अमेरिका उड्दा इयर पोर्टमा आफुले छोरीलाई चुम्वन दिएको तस्बिरलाई लिएर केही मिडियाले गसीप लेख्दा उक्त तस्बिरलाई लिएर आउने फोन कलले आफुलाई निकै तनाव भएको उल्लेख गर्दै उनले थपे- 'अहिलेका केही फिल्म पत्रकारसँग न्यूज र गसीप के हो ? भनेर छुट्याउने क्षमताको अभाव छ ।'
यही साता मात्रै अमेरिकाबाट नेपाल ब्याक भएका फिल्म 'छ एकान छ'का निर्देशक डिसीले जोड दिए- 'फिल्मी समाचारमा न्यूज र गसीपको सेग्मेन्ट छुट्टै हुन आवश्यक छ ।' डिसी निर्देशकसँगै सञ्चारकर्मी पनि हुन् ।

