अभिनेता भुवन केसीले चुनावी टिकटको पाउन आफुले मरिहत्ते नगरेको बताएका छन् । एमाले पार्टी भित्रबाटै बिरोधका स्वरहरु सुनिएपछि प्रत्यक्ष चुनाव लड्ने टिकट आफुले फिर्ता गरेको दाबी गर्दै अभिनेता भुवन केसीले भने- 'पार्टीको बिरोध र केही प्राविधिक गडबडीले गर्दा मैले प्रत्यक्ष चुनाव लड्ने टिकट पार्टीलाई नै फिर्ता गरेको हुँ ।'
गोपिकृष्ण इन्टरटेन्मेन्टको जिकेफिल्मी वेबसाइट सार्वजनिक कार्यक्रममा अतिथि बनेर पुगेका अभिनेता केसीले कस्तो खालको प्राविधिक गडवढीले अन्तिम समयमा आएर टिकट फिर्ता गरियो ? भन्ने बारे भने केही पनि खुलाएनन् । काठमाण्डौ क्षेत्र नम्वर १ बाट एमालेको समानुपातिक कोटामा तानिएका केसीले थपे- 'हामी कलाकार नेता जस्तो टिकट पाउन मरिहत्ते गर्दैनौं भन्ने पाठ मैले दिएको छु ।'
आफुलाई एमालेले चुनावी टिकट दिएर राजनीतिक दलले कलाकारलाई विश्वास र सम्मान दिएको पनि उनले बताए । राप्रपाका अध्यक्ष कमल थापा प्रमुख अतिथि रहेको कार्यक्रममा भुवनले राप्रपा पार्टी प्रवेशको चर्चा बारे भने चुप रहे । राप्रपाका अध्यक्ष कमल थापाले पनि भुवन केसी बारे कुनै टिप्पणी गरेनन् । कार्यक्रममा आमने सामने परेका अध्यक्ष थापा र अभिनेता केसीले छुट्टिने बेलामा हात मिलाउने बाहेक कुनै वार्तालाप गरेनन् ।

काठमाडौ क्षेत्र नम्वर ४ बाट राप्रपा नेपालबाट प्रत्यक्ष चुनावी मैदानमा उत्रन लागेका गोपिकृष्ण इन्टरटेनमेन्टका संस्थापक अध्यक्ष उद्धव पौडेललाई सम्पूर्ण प्रमुख अतिथिले विजयीको लागी शुभकामना दिए । निर्माता समेत रहेका पौडेललाई पार्टी भन्दा माथि रहेर सहयोग गर्नुपर्ने सबैको भनाई थियो ।

निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, चलचित्र संघका महासचिव प्रदिप कुमार उदय, डिसिएनका प्रमुख अशोक शर्मा, टेलिभिजन कलाकर्मी मञ्चका अध्यक्ष दिपाश्री निर्रौला, रंग पत्रकार शान्तिप्रिय लगायतले प्रत्यक्ष चुनावी मैदानका उम्मेरद्वार उद्धव पौडेलाको चुनावी जितको शुभकामनासँगै सम्पूर्ण फिल्मकर्मी तथा सञ्चारकर्मीलाई विजया दशमीको पनि शुभकामना दिए ।


