Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

काली र दामिनी विवाद : छविले गरे वोर्डमा निवेदन दर्ता

फिल्मीखबर, काठमाण्डौ, 2013/10/06

फुलपाती रिलिज फिल्म काली र दामिनी विवाद उत्कर्षमा पुगेको छ । कालीसँगै असोज २५ गते रिलिज हुने दामिनी फिल्मलाई लक्षित गर्दै निर्माता छविराज ओझाले स्वदेशी फिल्मको प्रदर्शनमा सहज हुनुपर्ने भन्दै चलचित्र विकास वोर्डमा निवेदन दर्ता गराएका छन् ।

 

यही असोज १५ गते छविराज प्रोडक्सन कम्पनीको नाममा निर्माता छविराज ओझाले विकास वोर्डमा दर्ता गराएको निवेदनमा २/४ लाखमा विदेशी फिल्मलाई खरिद गरी नेपाली पर्दामा रिलिज गर्दा भोली नेपाली फिल्म क्षेत्रले भोग्न पर्ने खराब नियती कस्तो हुन्छ ? भन्ने कुरा उल्लेख छ । निर्माण पश्चात काली फिल्मको कार्यकारी निर्माता बनेका छविराजले आफ्नो फिल्म भन्दा पनि सम्रग फिल्म क्षेत्रको हितको लागी आफुले उक्त निवेदन विकास वोर्डमा दर्ता गराएको बताए ।

 

त्यस्तै विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले आवश्यक प्रक्रियाको लागी चलचित्र संघ लगायत अन्य फिल्म सम्वद्ध संघ संस्थालाई पत्र काट्ने जानकारी गराए । अध्यक्ष मोरवैताले फिल्मीखबर समक्ष भने- 'छवि जीले दिएको निवेदन उपर छलफल गरेर नेपाली फिल्मको प्रदर्शन सहजताको लागी अन्य संघ संस्थासँग छलफल गरेर आवश्यक निर्णय लिनेछु ।'

 

 

भोजपुरी फिल्म भनिएको 'दामिनी' नेपालीमा डबिङ गरिएको भन्ने आरोपको खण्डन वितरक मनोज राठीको छ । आफूले वितरण गर्न लागेको दामिनीलाई नेपाली भाषामा समेत सुटिङ गरिएकाले भोजपुरी मात्र नभई नेपाली फिल्म पनि भएको उनको भनाई छ । वितरक राठीले दामिनी फिल्मका निर्देशक, कलाकार तथा अन्य युनिट नेपाली नै भएकाले विदेशी फिल्म भनेर विवाद अबुझहरुले मात्रै झिक्ने भनाई राखेका छन् ।

 

दामिनीको नेपाल राईट लिएका राठीले फिल्मीखबरलाई भने- 'विकास वोर्डका अध्यक्ष पनि भोजपुरी फिल्म खेलेरै वोर्डका अध्यक्ष भएका हुन् । ३ वर्ष अघि सेन्सर भैसकेको फिल्मबारे किन बखेडा झिकिंदै छ ?' सुरुमा काली फिल्म वितरणको जिम्मा लिएको मनोज राठी समुहले निर्माता ओझाले वितरणको जिम्मा लिएपछि सोही मितिमा प्रदर्शन गर्ने गरी भोजपुरी फिल्म दामिनीको नेपाल राइट लिएको हो ।

 

रिलिजको संघारमा काली र दामिनी बिचको मुख्य विवाद विश्वज्योती हलमा काली नभएर दामिनी रिलिज हुने भएपछि चर्किएको हो । हलसँग सम्झौता भैसकेकाले दामिनीलाई हटाएर काली रिलिज गर्न नमिल्ने दामिनीका काठमाण्डौ वितरक सुनिल मानन्धरले जानकारी दिए ।

 

वितरक मानन्धरलाई विकास वोर्ड अध्यक्षले फोन गरेर विश्वज्योती हल कालीका लागी छोडिदिन आग्रह गरेका थिए । तर, जवाफमा नहुने बताएपछि दामिनीलाई रोकिदिने धम्की वोर्ड अध्यक्ष मोरवैताले दिएको वितरक मानन्धरले गुनासो गरेका छन् । यद्पी विकास वोर्ड अध्यक्ष मोरवैताले वितरक मानन्धरलाई त्यस्तो नभनेको प्रतिक्रिया दिए ।