निधारमा रातो टिका र पहेंलो जमरा लगाएर विजया दशमीमा एकपटक धर्ती छोड्नु पर्छ भन्ने परम्पराको बिरोधी अभिनेत्री सुमिना घिमिरे होइनन् । मङ्गल धुनबाट दशैंको आएको महसुश गर्ने सुमिनालाई लिङ्गे पिङ खेल्न भने औधी डर लाग्छ रे !
किन ? भन्ने प्रश्न गर्दा सुमिना विगत सम्झंदै भावुक बनिन् । गहभरी आँसु पार्दै सुमिनाले फिल्मीखबर समक्ष आफ्नो विगत सुनाइन्- 'करिब ७ वर्षको हुँदा म इनारमा डुबेको थिएँ ।' 'सुर्खेत घरको इनारमा पानी तान्दै गर्दा डोरी सँगै म पनि इनारमा पुगेछु', लामो स्वास लिदै सुमिनाले सुनाइन्- 'भाग्यवश म चिच्याएको सुनेर नजिकै रहेकाले मलाई इनारबाट झिक्नु भयो ।'
डोरीसँगै इनारमा डुबेको घटनापछि डोरी देखी डर लाग्ने गरेको सुमिनाले बताइन् । 'तरपनि टिकाको दिन भने एक सर्को मात्रै पिङ खेल्ने गरेको छु', डराए जस्तो गरी सुमिना भन्छिन्- 'सुर्खेतमा हुँदा त घर नजिकै पिङ हालेर रमाइलो गरिन्थ्यो ।' यस वर्ष सुमिनाले लिङ्गे पिङ खेल्न पाउने छैनन् । निराश मान्दै सुमिनाले सुनाईन्- 'दशैं कार्यक्रम लिएर टिकाको अघिल्लो दिन म कतार उड्दैछु । दशैंमा घर छोडेर कतार गएको यो पहिलो पटक हो ।'
यद्पी उनले कतारका दर्शकसँग रमाइलो हुने आशा व्यक्त गरिन् । अभिनय गरेको पहिलो फिल्म छविलाल कञ्जुस छैन भएपनि दर्शकमाझ सुमिना दुलही फिल्म मार्फत चिनिईन् । अभिनेता राजेश हमालसँग सोझी गाउँले युवतीको भुमिकामा दुलही फिल्ममी देखिएकी सुमिना पछिल्ला केही फिल्ममा भने अलि बढी नै एक्सपोज भईन् । सोझी र साधारण अभिनेत्रीले खुलापनको बाटो किन रोज्नुपर्यो त ? सुमिनाले फिल्म क्षेत्रको बाध्यात्मक परिस्थितिलाई औल्याइन्, म कलाकार हुँ । हरेक रोलमा फिट हुनुपर्छ भन्ने मान्यता म राख्छु ।
पछिल्लो समय सेक्स केन्द्रित फिल्म नै बढी बनिरहेका छन् । 'भुमिका छानेर खेल्न त आफैंले फिल्म बनाउनु पर्यो कि यो लाइन नै छाड्नु पर्यो,' नाइन ओ क्लक, लभ फरेभर र प्रदर्शनको क्रममा रहेको स्टार जस्ता फिल्ममा हट दृश्य र सेक्सी संवाद बोलेकी सुमिना थप्छिन्- 'सुमिना घिमिरे छोटो स्कर्ट लगाएर बाटोमा हिंडेको छ भने टिका टिप्पणी गर्न मिल्छ । तर, कुनै पनि फिल्मको चरित्रलाई लिएर मेरो व्यक्तिगत जीवन माथि प्रश्न नगर्न सबैलाई अनुरोध गर्दछु ।'
मिडियामा आउने विभिन्न टिप्पणी र विवादले आफुलाई दुःखी बनाउने गरेका सुमिनाले बताइन् । सुमिनाले भनिन्- 'कलाकार भएपनि म पनि आम नारी सरह नै हुँ, फरक यति मात्रै हो । गलत आक्षेप लगाउँदा विवाद भयो होला । तर, त्यस बेला मेरो दर्शक तथा पत्रकार साथीहरुले मलाई हिरोइन सुमिना घिमिरे नभएर आफ्नै बैनी, छोरीको स्थानमा राखेर हेर्न अनुरोध गर्दछु ।'

