कार्तिक ८ गते अल नेपाल रिलिज हुने सुदर्शन थापाको पछिल्लो फिल्म मधुमासले प्रचार प्रसारलाई तिव्रता दिएको छ । सस्पेन्स रोमान्टिक श्रेणीको मधुमासको केही साता अगाडी मात्रै गीत र प्रोमो सार्वजनिक गरिएको थियो । मधुमासको रोमान्टिक गीत 'आँटी सक्यो...'ले बजारमा चर्चा पाइरहेको छ ।
प्रचार प्रसारलाई तिव्रता दिन मधुमास युनिट प्राविधिक संघले असोज १८ गते कार्यक्रममा सहभागी भएको थियो । फिल्मकर्मी तथा सञ्चारकर्मी माझ निर्देशक तथा निर्माता सुदर्शन थापाले फिल्म बारे जानकारी गराए । त्यस्तै निर्माता बाबुराम दाहालले फिल्मले राम्रो व्यवसाय गर्ने आशा व्यक्त गरे । चलचित्र प्राविधिक संघले गर्ने ६ औं नेफ्टा अवार्डबाट अभिनय शिरोमणीको उपमा पाएका कलाकार निर शाहले फिल्म सफलताको लागी शुभकामना दिए ।
कार्यक्रममा नव अभिनेत्रीद्धय पूजा शर्मा र सिवाङ्गिनी राणा, अभिनेता मनोज आरसी लगायत अन्य फिल्मका युनिट सहभागी भएका थिए । अभिनेता आर्यन सिग्देल भने होम प्रोडक्सनको फिल्म नेभेम्वर रेनको सुटिङमा व्यस्त भएकाले मधुमासको प्रचारमा देखिएन् । मधुमास युनिट विभिन्न कलेज, कन्सर्ट तथा इभेन्टस्मा फिल्मको प्रचारमा व्यस्त छ । फिल्मको व्यापारमा प्रचारको प्रभाव कस्तो देखिएला ? असोज ८ सम्म प्रतिक्षा गर्रौ ।





