औपचारिक कार्यक्रममा आफुलाई गलत आक्षेप लगाएको भन्दै निर्देशक समेत रहेकी सम्झना रौनियार उप्रेतीले नेफ्टा र प्राविधिक संघका महासचिव अनन्त तिमल्सिना विरुद्ध मानहानीको मुद्धा दायर गर्ने धम्की दिएपछि संघका अध्यक्ष मनोज केसी र महासचिव तिमल्सिनाले माफी मागेका छन् ।
असोज १९ गते नयाँ बानेश्वरस्थित अल्फा विटा हाउसको एक फिल्म शुभ मुहर्तको औपचारिक कार्यक्रममा अध्यक्ष केसी र महासचिव तिमल्सिनाले पूर्व नेफ्टा अवार्ड संयोजक रौनियार उप्रेतीसँग माफी मागेका हुन् । महासचिव तिमल्सिनाले भने- 'मैले हिजो नेफ्टाको कार्यक्रममा आदरणिय दिदी सम्झना रौनियारलाई कार्यक्रम संयोजकको रुपमा हटाइएको भन्ने वाक्यले उहाँलाई चोट पुगेको भए म क्षमा प्रार्थी छु ।'
असोज १८ गते अल्फा विटा हाउसमै साँझ भएको नेफ्टाको टप र्थी अनाउन्समेन्ट कार्यक्रममा महासचिव तिमल्सिनाले गत वर्षका कार्यक्रम संयोजक सम्झना रौनियार उप्रेतीलाई यो वर्षदेखि कार्यक्रम संयोजक नहुने गरी हटाइएको र रौनियार उप्रेती संयोजक हुंदाको ताका नेफ्टालाई विभिन्न आरोप आएको भन्ने अभिव्यत्ती दिएका थिए । यस प्रकारको अभिव्यत्तीबाट क्रुध बनेकी मेघा फिल्मकी निर्देशक रौनियारले आफ्नो चरित्र हत्या भएको भन्दै अदालतमा मानहानीको मुद्धा दर्ता गराउने बताएकी थिईन् । उनले नेफ्टा र चलचित्र संघका महासचिव अनन्त तिमल्सिनाले लिखित माफी मागे आफुले क्षमा गर्ने बताएकी छिन् ।
लिखित माफी नमागे आउने मंगलबारसम्म नेफ्टा र महासचिव तिमल्सिना विरुद्ध मानहानीको मुद्धा दर्ता गराउने तयारीमा रहेकी सम्झनाले फिल्मीखबर समक्ष भनिन्- 'जिम्मेवार पदमा रहेका व्यक्तीले औपचारिक कार्यक्रममा जथाभावी बोल्न पाइदैन भन्ने सन्देश दिन खोजेको हुँ । यदी लिखित माफी आउदैन भने आउने मंगलबार सम्म नेफ्टा र प्राविधिक संघका महासचिव अनन्त तिमल्सिनालाई विपक्षी बनाएर मानहानीको मुद्धा हाल्नेछु ।'

