सन् २०१२ को सिएनएन हिरो घोषित भएपछि समाजसेवी पुष्पा बस्नेत सेलिव्रेटी बनिन् । अविवाहित पुष्पाले काठमाण्डौ शहर नजिकैको चपली गाउँमा अभिभावक कारागारमा भएका बालबालिकालाई खान, बस्न र उचित शिक्षाको व्यवस्था गर्दै आएकी छिन् ।
८ वर्ष अगाडी आफनो एक्लो प्रयासबाट सञ्चालनमा ल्याइएको अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरमा हाल ४४ जना बालबालिका छन् । जस्को उमेर समुह ८ देखि १८ वर्ष सम्मको छ । सबै बालबालिकाबाट मामु भनेर सम्बोधन गरिने सिएनएन हिरो पुष्पा बस्नेतसँग फिल्मीखबरले फिल्मी गफगाफ गरेको छ :
२२ वर्ष अघि लाहुरे फिल्म हेरेको पुष्पालाई सम्झना छ । 'त्यतिबेला भृकुटीमण्डपमा हरेक हप्ता फिल्म देखाउने कार्यक्रम हुन्थ्यो', पुष्पाले सुनाइन्- 'साथीहरु मिलेर फिल्म हेर्न जान्थ्यौं । त्यती बेलाका फिल्म रमाईला हुन्थे ।' लाहुरे पछि उनले गत वर्ष प्रदर्शनमा आएको 'अपवाद' फिल्म हेरिन् । सेन्टरका बच्चाहरुलाई सँगै लिएर उनी फिल्म हलमा पुगेकी थिइन् । फिल्मको कथा र अभिनेता राजबल्लभ कोइरालाको अभिनय उनलाई एकदमै मन पर्यो ।
फिल्म हेरेपछि पुष्पा राजबल्लभको फ्यान भएकी छिन् । भन्छिन्- 'राजको पर्सनालिटी र अभिनय क्षमता मलाई मन पर्छ ।' राजबल्लवसँगै अभिनेता राजेश हमाल, मौसमी मल्ल, गौरी मल्ल पुष्पालाई मनपर्ने नेपाली कलाकार हुन् । आफ्नो उमेर समुहकी अभिनेत्री रेखा थापा बाहेक उनले अरु कलाकारलाई खासै नचिनेको बताइन् । बलिउडका सलमान खान, सञ्जय दत्त, काजोल र माधुरी दिक्षित पुष्पाका मनपर्ने कलाकार हुन् ।
पुष्पा भन्छिन्- 'कलाकार भनेको टिकाउ हुनुपर्छ । २ वर्ष फिल्म खेलेर गायव हुने कलाकारको खासै महत्व हुँदैन जस्तो लाग्छ ।' केही महिना अगाडी पुष्पाले आफ्नै जीवन यात्रामा आधारित डकुमेन्ट्री 'वेटिङ फर मामु'लाई अमेरिकामा हेर्ने मौका पाइन् । २ सय वर्ष पुरानो 'जोन जो' हलमा पुष्पाको डकुमेन्ट्रीलाई एक फेस्टिभलमा प्रिमियर गरिएको थियो । पुष्पालाई घटना प्रधान फिल्म मन पर्छ । मनोरञ्जनसँगै समाजलाई सन्देश र चेतना दिने फिल्म निर्माण हुनुपर्ने उनको धारणा छ ।
अहिले बनिरहेका नेपाली फिल्म प्रति उनी कत्तिको जानकार छिन् त ? 'अहिले त फिल्मको पोस्टर्स पनि हेर्न लाज लाग्छ', छाडा फिल्म प्रति असहमती जनाउँदै पुष्पा भन्छिन्- 'सेक्स मात्रै फिल्मको विषय होइन । समाजलाई चेतना दिने फिल्म पनि बन्न जरुरी छ ।' चेलीबेटी बेचबिखनको फिल्म ढुवानी बारे पुष्पाले सुनेकी छिन् । तर, व्यस्तताले गर्दा उनले ढुवानी हेर्ने नपाएको बताइन् ।
फुर्सदमा सेन्टरमै प्रोजेक्टर जोडेर बच्चासँगै फिल्म तथा डकुमेन्ट्री हेर्ने पुष्पा भन्छिन्- 'फिल्मले व्यक्तिको सोचलाई बदल्न मद्धत गर्छ । त्यसैले कथावस्तु सन्देशमुलक हुन जरुरी छ ।'

