अभिनेता आर्यन सिग्देलले निर्माण गरेको फिल्म 'नोभेम्बर रेन'को यतिबेला धरानमा छायांकन तिब्र गतिमा भैरहेको छ । छायांकन अवधिमा अभिनेता सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठसँग अटोग्राफ लिन, तस्विर खिच्न र उनीहरूलाई आँखा अगाडी नै हेर्न धराने फ्यानको भिड लाग्ने गरेको छ ।
आफ्नो सुटिङ सकेर अभिनेत्री श्रेष्ठ काठमाण्डौ फर्किसकेकी छिन् तर अभिनेता सिक्देल भने धरानमा एक्सन कटमा नै व्यस्त छन् । धरान १६ स्थित एक घरमा आर्यनको सिनलाई खिचिरहँदा उनलाई हेर्न आउने दर्शकको निकै भिड लाग्यो । उक्त भिड नियन्त्रण गर्न निर्माण युनिटलाई हम्मे हम्मे पर्यो । धरानको ब्यस्त बजारमा एक्सनको दृश्य खिच्दा होस् या हस्पिटल भित्र जहाँ पनि उनको फ्यानको उपस्थिति भएको थियो ।
फिल्मको करिब ४० प्रतिशत छायांकन सकिएको जानकारी निर्देशक दिनेश राउतले दिएका छन् । भाद्र ३१ गते मुहुर्त गरेर छायांकन सुरु गरिएको फिल्मको धरान पार्टको छायांकन दशैं अगाडी सकिने छ । फिल्मको ६० प्रतिशत छायांकन धरानमा गरिने छ भने दशैं पश्चात काठमाडौँमा फिल्म खिचिने छ ।
देशकै ठुलो हस्पिटलको रुपमा रहेको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा फिल्मको अधिकांश दृश्य खिचिएको छ । फिल्मको कथाले नै हस्पिटलको दृश्य मागेकोले धेरै दृश्य त्यहि खिच्नु परेको निर्देशक राउतले जानकारी गराए । धरानमा अब एउटा गीत र द्वन्दको दृश्य खिच्न बाँकी रहेको उनले बताए ।
'नोभेम्बर रेन'मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, केशव भट्टराई, शिरिष राणा, हिउँवाला गौतम, अमितेश शाह लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई आर्यनले सुबास गिरीसँग मिलेर निर्माण गरिरहेका छन् । फिल्मलाई राजेश श्रेष्ठले खिचिरहेका छन् । छेतन गुरुङको रोमान्टिक कथा रहेको ‘नोभेम्बर रेन’ प्रदर्शन मिति फेब्रुअरी १४ अर्थात भ्यालेनटाइन डे तोकिएको छ ।
फिल्मको छायांकनका केहि तस्बिरहरु -








