निमन्त्रणा गरिएका हरेक जसो कार्यक्रममा अभिनेता राजेश हमालको उपस्थिति रहन्छ । प्रायः सबै जसो कार्यक्रममा सहभागी हुने अभिनेता हमाल तोकेको समयमा भने कमै पुग्ने गर्छन् ।
अन्य कार्यक्रममा जस्तै असोज १७ गते एक एल्बम विमोचन कार्यक्रममा पनि अभिनेता हमालको उपस्थिति ढिला रह्यो । गायक राजेश पायल राईको १७ औं गीति एल्बम 'दर्शन नमस्ते २' विमोचन गर्न राजेश हमाल झन्डै डेढ घण्टा ढिला गरी बानेश्वरस्थित एभ्रेष्ट होटलमा पुगेका थिए । १ बजे भनिएको कार्यक्रममा राजेश हमाल ३ बजे पुगेपछि आगन्तुकहरुको पर्खाइ निकै कठिन बनेको थियो ।
जे होस्, कार्यक्रम छाडेर कोही बिचबाट उठेनन् । राजेश हमाललाई पर्खी रहे । उम्मेरद्वारी दर्ताका लागि बानेश्वरमा बिभिन्न पार्टीको र्यालीले गर्दा बाटोमा अबरोध आएपछि ढिला गरी कार्यक्रममा पुगेका राजेश हमालले गायक राजेश पायल राईको पछिल्लो एल्बम 'दर्शन नमस्ते २'लाई विमोचन गरे ।
आ-आफ्नो क्षेत्रमा हिट मानिएका दुई राजेश एक अर्का प्रति गहिरो मित्रता रहेको बताउँछन् । त्यसैले पनि गायक राईको निमन्त्रणालाई स्विकार्दै हमाल पुतलीसडक देखि बानेश्वरसम्मको जाम छिचोल्दै कार्यक्रम स्थल पुगे । प्राय कार्यक्रममा ढिला उपस्थित भएर छिटो निस्कने हमाल यो कार्यक्रममा भने पूरै समय बसे ।
राजेशको एल्बममा ११ वटा गीत समावेश गरिएको छ । जसमा राजेन्द्र थापा, सुरेश अधिकारी, नवराज लम्साल, नरेश भट्टराई, भुपेन्द्र खड्का, अनिल स्थापित, कुमार विवाहित, पदम किरातीको शब्द छ । यस्तै एल्बममा समावेश गीतमा सुरेश अधिकारी, महेश खड्का, बसन्त सापकोटा, कल्याण सिंह, राई नविन, सन्तोष राज र बिनोद खम्बुको संगीत छ ।
कार्यक्रममा मिलन चाम्सको निर्देशनमा हेमा श्रेष्ठ र राजेश पायल राईले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो भने गायक राईले एल्बमका पाँच गीत गाएर सुनाएका थिए । उनी आफ्नै गीत गाउँदा बेला बेला अक्मकिएका देखिन्थे ।




