पर्सा क्षेत्र नम्वर १ बाट आगामी संविधान सभाको निर्वाचनमा एमाओवादी पार्टी कार्यालय पेरिस डाँडाबाट प्रत्यक्ष उम्मेरद्वारीको टिकट लिएकी अभिनेत्री रेखा थापा त्यति बेला अचम्मित भइन् जतिबेला मतादाता नामावलीमा उनको नाम देखिएन । प्रत्यक्ष उम्मेरद्वारकै नाम मतादाता नामावलीमा नभेट्टिएपछि एमाओवादी पेरिस डाँडा पार्टी कार्यालयमा हल्लीखल्ली मच्चियो । रेखा असीन पसीन भइन् ।
असोज १६ गते बिहान अध्यक्ष पुष्पकमल दाहालबाट प्रत्यक्ष उम्मेरद्वारको टिकट पाएकी रेखा दिउँसो भरी नै तनावमा रहिन् । पार्टी कार्यालयले मतादाता नामावलीमा नाम दर्ता गर्न सकिने प्रक्रिया खोज्न थाल्यो । केही सिप नलागेपछि राती अभिनेत्री थापाको स्थानमा पर्सा क्षेत्र नम्वर १ बाट बलिराम शाहलाई उम्मेरद्वारी दिइयो । अभिनेत्री रेखा थापाको चुनावी टिकट खोसियो भन्ने समाचार मिडियामा छ्यापछ्यापी हुँदा उनी भने सम्पर्क भन्दा बाहिर रहिन् ।
असोज १६ गते रेखासँग सम्पर्क गर्ने मिडियोको प्रयास असफल रह्यो । आज फिल्मीखबरको सम्पर्कमा आएकी रेखाले चुनावी टिकट खोसिएको बारे आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । रेखाले फिल्मीखबर समक्ष भनिन्- 'मतदाता नामावलीमा नाम नभएकै कारण प्रत्यक्ष चुनाव लड्नबाट म वञ्चित भएकी हुँ ।' मतदाता नामावलीमा नाम चढाउने बारे पार्टीले प्रयास गरिरहेको जानकारी दिदै रेखा भन्छिन्- 'चु्नावी मैदानमा प्रत्यक्ष गएर जनतासँग साक्षत्कार गर्ने मेरो चाहना थियो । दुर्भाग्य, त्यो हुन सकेन । तर, प्रत्यक्षबाट चुनाव नलडेपनि पार्टीको चुनावी कार्यक्रममा भने सक्रिय भएर लाग्नेछु ।'

देशकै शक्तिशाली पार्टीले एउटा कलाकारलाई चुनावी टिकट उपलब्ध गराउनु फिल्म क्षेत्रको सम्मान र आफु प्रतिको विश्वास रहेको तर्क गर्दै रेखाले थपिन्- 'म एमाओवादी पार्टीलाई धन्यवाद दिन चाहान्छु जसले कलाकारलाई सम्मान र विश्वास गर्यो ।' फुलपाती रिलिज काली फिल्मकी मुख्य अभिनेत्री थापा थप्छिन्- 'जे हुन्छ राम्रैका लागी हुन्छ, यो चुनावमा प्रत्यक्ष लड्न नपाएपनि सामाजिक सेवा र राजनीति प्रति सक्रिय भएर अगाडी बढ्नेछु ।'
संविधान सभाको निर्वाचनमा प्रत्यक्ष लड्ने भनिएको अभिनेता भुवन केसीको पनि अन्तिम समयमा आएर उम्मेरद्वारी खोसिएको छ । काठमाडौ क्षेत्र नम्वर १ बाट नेकपा एमालेको चुनावी टिकट पाउने भनिएका अभिनेता केसीको अन्तिम समयमा आएर उम्मेरद्वारी तालिकाबाट नाम हटेको थियो ।
स्रोतका अनुसार अभिनेत्री थापाको मात्रै नभएर अन्य उम्मेरद्वारको पनि मतदाता नामावलीमा नाम नभेटिएपछि धेरैको उम्मेरद्वारी रोकिएको छ । स्रोतका अनुसार अध्यक्ष दाहालले छुटेको नामावली दर्ता गर्न प्रधानमन्त्री खिलराज रेग्मी समक्ष अध्यादेशको माग समेत गरेका छन् ।

