नेकपा एमाओवादीको तर्फबाट पर्सा क्षेत्र नम्बर १बाट आगामी संविधान सभा निर्वाचनमा लड्ने तयारीमा रहेका रेखा थापालाई अन्तत: टिकट नदिईने भएको छ । रेखा उठ्ने भनिएको क्षेत्रमा पार्टीले बलिराम साहलाई टिकट दिएको छ ।
बुधबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा एमाओवादीले संविधान सभा निर्वाचनको प्रत्यक्ष तर्फको लागि अन्तिम उम्मेदवारको नाम सार्वजनिक गरेको छ । उक्त नामावलीमा रेखाको नाम समावेश गरिएको छैन । यस बिषयमा रेखा थापासँग बुझ्न खोज्दा सम्पर्क सफल हुन सकेन । रेखा जनतालाई कन्भिन्स गर्न केहि दिनमा नै पर्सा जाने तयारी गरेकी थिईन् ।
एमाओवादीमा प्रवेश गरे पश्चात नै रेखाको राजनीति क्षेत्रमा पनि निकै चर्चा परिचर्चा चल्ने गरेको थियो । शुरूमा आफ्नै गृह जिल्लाबाट एमाओवादीले रेखालाई प्रत्यक्ष तर्फ उठाउने चर्चा चले पनि उनलाई पर्साबाट टिकट दिने अन्तिम निर्णय गरिएको थियो । अभिनेता भुवन केसीको जस्तै रेखाको पनि चौतर्फी बिरोध भएपछि एमाओवादीले रेखालाई टिकट नदिने निर्णय गरेको हो ।
चुनाव लड्ने चर्चामा रहेका यि कलाकारहरूले सम्बन्धित पार्टीमा खासै योगदान नगरेको र योगदान दिएका नेताहरूको अपमान भएको भन्दै कार्यकर्ताहरू सहित नेताहरूले बिरोध गर्दै आएका थिए । सोही बिरोधका बाबजुत टिकट नपाए पछि रेखा र भुवन इल्ली न बिल्ली भएका छन् ।

