ब्लकबस्टर फिल्म लुटबाट सौगात मल्ल (हाकु काले) रातारात सेलिव्रेटी बने । लुटमा निभाएको नेवारी हाकु कालेको भुमिकाले सौगातलाई अवार्डसँगै रजतपटमा व्यस्त पनि बनायो ।
सौगातले छोटो समयमै दर्जन फिल्ममा अभिनय गर्ने मौका पाए । लुट पछि करिब आधा दर्जन फिल्म हलमा चले तर व्यापारिक रुपमा चलेनन् । फिल्मको व्यापार जे होस्, लुटका हाकु काले भने राम्रैसँग चलिरहेका छन् । हाल उत्सव फिल्मको सुटिङमा व्यस्त सौगातसँग दर्जन फिल्म पाइप लाइनमा छन् ।
भूषण दाहाल निर्देशित कागबेनी फिल्मबाट रजतपटमा अभिनय यात्रा थालेका सौगातको कम बोल्ने बानी छ । यही बानीले गर्दा सौगातको साथी सर्कल र मिडियाकर्मीसँग त्यती घनिष्ठता छैन । माईकमा त सौगात कम बोल्छन् नै कुनै विषयलाई लिएर मिडियाकर्मीले सोधेको प्रश्नको जवाफ दिन पनि उनी सहज मान्दैनन् ।
सौगात किन बोल्दैनन् ? फिल्मीखबरसँगको कुराकानीमा उनले भने- 'म बोलेर भन्दा पनि काम गरेर देखाउँछु ।' सौगातलाई थाहा छ, 'बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन' । र पनि, सौगात किन बोल्दैनन् त ? भन्छन्- 'खासमा मलाई बोल्न नै दिक्क लाग्छ । यहाँ बोलेरै धेरै कुरा बिग्रिएको छ । बोलेर काम बिगार्नु भन्दा चुप बस्नु नै ठिक लाग्छ ।' सौगात थप्छन्- 'बौल्दै नबोल्ने हैन, मैले धेरै ठाउँमा बोलेको छु । तर, आफुले एउटा बोलेको हुन्छ, सुन्नेले अर्कै सुनि दिन्छन् । समस्या त्यहाँबाटै निस्कन्छ ।'
सौगातको कम बोल्ने बानीलाई के भन्ने ? आफ्नो बोली प्रति विश्वास नभएको या बोल्नेहरुसँग सँगत नभएको ?

