धरानमा छायाँकन भैरहेको फिल्म 'नोभेम्वर रेन'की अभिनेत्री नम्रता श्रेष्ठ आफ्नो पार्टको छायाँकन सकी प्रदर्शन भैरहेको फिल्म मौनको प्रोमोशनको लागि काठमाण्डौ फर्किएकी छिन् । काठमाण्डौ फर्कनु पूर्व नम्रताले आफ्ना फ्यानहरूसँग लञ्चसँगै कुराकानी गरिन् ।
हतारका बीच धरान भानुचोकमा रहेको हंग्री आइ रेस्ट्रोबारमा पुगी आफ्ना फ्यानहरूसँग नम्रताले निकै बेर भलाकुसारी गरिन् । सो रेस्ट्रो बारले नम्रता धरान आएको मौका छोपेर असोज ६ गतेबाट एसएमएस भोटिंग मार्फत उनीसँग सम्बन्धित प्रश्न सोधेको थियो । प्राप्त भोटिङ मध्ये सहित उत्तर पठाउनेहरूबाट तीन जना बिजेता छानेर नम्रतासँग भेटघाटको अवसर जुराएको हो ।
हंग्री आइका संचालक एवं धरानका पर्यटनकर्मी महेन्द्र प्रधानले धरानेहरुले अभिनेत्रीलाई आफ्नो फ्यानसँग नजिक गराउनुका साथै पर्यटक र अतिथिलाई धरानमा स्वागत सत्कार हुन्छ भन्ने सकारात्मक सन्देश जाओस् भन्ने उदेश्यको साथ यो कार्यक्रम गरिएको जानकारी गराए । भोटिंग प्रणाली मार्फत बिजयी भएका धरान-५ कि एलिशा श्रेष्ठ, धरान १३ कि भूमिका श्रेष्ठ र धरान ११ का विजय राईले नम्रतासँग लञ्च गर्ने अवसर पाएका थिए ।
रिलमा मात्रै देखेकी नायिकालाई रियलमा भेटेर कुराकानी गर्न पाउदा खुसि लागेको फ्यानहरुले प्रतिक्रिया दिएका थिए । उता आफु जन्मेको ठाउँमा आएको दिन देखिनै आफ्नो फ्यानले दिएको माया र सदभावबाट रमाइलो र खुसी लागेको नम्रताले बताईन् । उनले आफू जन्मेको स्थान (धरान)लाई सधैं सम्झने गरेको बताउँदै यसरी नै माया गरिरहन आफ्ना फ्यानसँग आग्रह गरिन् ।
नम्रताले बोल्न नसक्ने पात्रको भुमिका निर्वाह गरेको फिल्म 'मौन' अहिले देशभरका अधिकांश मुख्य स्टेशनमा प्रदर्शनरत छ । फिल्मले पिकअप लिईरहेकाले पनि प्रोमोशनका लागि टाईम छुट्टाएर काठमाण्डौ पुग्नै पर्ने अवस्था रहेको नम्रताले बताईन् । अभिनेता आर्यन सिग्देलले निर्माण गरेको फिल्म 'नोभेम्वर रेन'को भने अहिले धरानमा धमाधम छायाँकन भईरहेको छ । यो फिल्ममा पनि नम्रता लभर गर्लको भुमिकामा छिन् ।

