द्धन्दकालको घटनालाई समेटेर निर्माण भएको फिल्म ‘सुराक’लाई निर्माणपक्षले समिक्षा गर्नका लागि पोखराका रंग पत्रकारहरु माझ प्रदर्शन गरेको छ । फिल्म हेरिसकेपछि अधिकांश रंग पत्रकारहरुले फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिए ।
द्धन्दकालमा विद्रोही र राज्य पक्षबाट ग्रामिण ईलाकाका जनता कसरी चेपुवामा परेका थिए ? भन्ने विषयमा केन्द्रित फिल्म हेरिसकेपछि धेरैजसो पत्रकारहरु नोस्टाल्जिक बनेका थिए । द्धन्दकालमा आफुहरुसंग पनि त्यस्तै खालका अनुभव भएको भन्दै उनीहरुले आफ्ना अनुभव समेत सुनाएका थिए । सोहि क्रममा फिल्ममा जसरी नै रंग पत्रकारहरुले समेत द्धन्दका कारण कसैलाई पनि फाईदा नपुगेको निष्कर्श समेत निकाले ।

असोज १२ गते लेखनाथमा प्रदर्शन भएको यो फिल्मलाई दर्शकले समेत अत्याधिक रुचाएको निर्देशक माओत्से गुरुङले बताए । ‘फिल्म हेरिसकेपछि धेरै दर्शकहरुले द्धन्दकालको सम्झना गर्छन् र विश्लेषण पनि गर्छन्,’ निर्देशक गुरुङले भने-‘यस्तै प्रतिक्रियाहरुका कारण मलाई पनि हौसला मिलेको छ ।’ यो फिल्म जम्मा ६२ मिनेट अवधीको मात्र छ ।
मंगलबार प्रेस शोसंगै फिल्म युनिटले न्यायका लागि द्धन्दपिडित समाजलाई १० हजार रुपैँया उपलब्ध गराएको छ । द्धन्दकालमा वेपत्ता भएकाहरुकै कथालाई फिल्म बनाएको भन्दै युनिटले समाजका सचिव जमुना शर्मालाई सो रकम हस्तान्तरण गरेको थियो । सुराकमा सोम गुरुङ, रजनी गुरुङ, निरज पन्त, मनोज घर्तीमगर, नौजंग गुरुङ लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्मलाई सन्तोष कोन्मेले खिचेका हुन् ।

