गाउँ देखि शहरमा दशैंको चहलपहल शुरू भैसकेको छ । व्यापार, बजार र यात्रामा व्यस्त हुन थालेपछि फिल्म घरहरुमा विस्तारै दर्शकको चाप कम हुँदै गएको छ । व्यस्त कलाकार दशैंमा फुर्सद निकाल्दै छन् । फुर्सदमा रहेका कलाकार किनमेल र दशैंलाई कसरी रमाइलो बनाउने ? भन्ने योजनामा छन् ।
केही कलाकारको दशैं विदेशमा हुने भएको छ । दशैं प्रसंगलाई लिएर फिल्मीखबरले केही अभिनेत्रीहरुसँग गफगाफ गरेको छ । फिल्मीखबरको गफमा अभिनेत्री नन्दिता केसी, शुष्मा कार्की, निता ढुङ्गाना, बिनिता बराल, नम्रता सापकोटा सहभागी छन् ।
दशैंमा सबै भन्दा बढी केमा खर्च हुन्छ ? भन्ने जिज्ञासामा अधिकांश हिरोइनबाट कपडा किन्नमा भन्ने उत्तर आयो । अभिनेत्री नन्दिता केसीले दशैं खर्च १५ हजार मात्रै छुट्याएकी छिन् । उनले छुट्याएको यो सबै रकम कपडा किन्नमा खर्च हुन्छ । फुलपाती अगाडी नै गृह जिल्ला अर्घाखाँची जाने तयारी गरिरहेकी नन्दिता भन्छिन्- 'घरमा दिदी बहिनी धेरै छन्, एक एक जोर कुर्ता सुरुवाल किन्दा पनि धेरै खर्च हुन्छ ।' यो दशैंमा नन्दिताले आफ्नो लागी भने युरोपबाट कपडा किनेको बताइन् ।
त्यस्तै बिनिता बरालले पनि दशैंमा कपडा किन्दा नै बढी खर्च हुने बताईन् । दशैंलाई २५ हजार रुपैयाँ छुट्याएकी बिनिता भन्छिन्- 'टिकाको दिनमा कुर्ता सुरूवाल लगाउन मन पर्छ । त्यसैले यसपालीको दशैंमा पनि कुर्ता सुरूवालमा खर्च हुन्छ ।' तरकारी खेतीमा लागेकी बिनिताको दशैं गृह जिल्ला चितवनमा हुनेछ । त्यस्तै निता ढुङ्गानाले दशैं खर्च ३० हजार जति छुट्याएकी छिन् । दशैंमा खासै खर्च नहुने बताउने शुष्मा कार्कीले २५ हजार छुट्याएको बताइन् । एनसेल टुरमा रहेकी अन्तराल डेव्यु नम्रता सापकोटाले दशैंमा खासै खर्च नहुने बताईन् । नम्रता भन्छिन्- 'म घरको कान्छी छोरी हुँ । मेरो केहीमा पनि खर्च हुँदैन ।'

बलिको बिरोध अभिनेत्री नन्दिता केसीलाई दशैंमा लगाउने रातो टिका र पहेंलो जमरा असाध्यै मन पर्छ । तर, विभिन्न देवी देउताको नाममा पशु बली दिंदा उनको रमाइलो निराशमा बद्लिन्छ । दशैंमा दिइने पशु बलीको नन्दिता बिरोधी हुन् । अभिनेत्री शुष्मा कार्कीलाई मारकाट भन्ने बित्तिकै शरीर शिरिङ्ग हुन्छ । शुष्मा भन्छिन्- 'म बली बिरोधी हुँ ।' नम्रता सापकोटा पनि बलिको कट्टर बिरोधी हुन् । नम्रताको भनाई छ- 'बली दिने सँस्कृतिको अन्त्य हुनुपर्छ ।' निता ढुङ्गाना, बिनिता बराल पनि दशैंमा दिइने बलीको बिरोधी रहेको बताए ।
टिको बिनाको दशैं
अभिनेत्री झरना थापा परिवारले दशैंमा टिका र पूजापाठ गर्ने छैन । धार्मिक यात्रामा निस्कीएकी सासु आमा भारतमा आएको बाढीमा बेपत्ता भएपछि थापा परिवारमा शोक छाएको छ । दशैंमा साँस्कृतिक कार्यक्रम लिएर झरना युरोप यात्रामा निस्कंदै छिन् । आफ्नो ठुलो बुवाको निधनका कारण दशैंमा टिका लगाउन नमिल्ने अभिनेत्री शुष्मा कार्कीले जानकारी गराइन् । आमा र आफन्तसँग दशैंमा रमाइलो गर्ने शुष्माले बताइन् ।
मातृ शोकका कारण अभिनेत्री निता ढुङ्गाना दुःखी छिन् । टिका नलगाए पनि निताले बुवा र भाइलाई दशैंमा राजधानीमा बोलाउने बताइन् । टिका बिनाको दशैं निताले बालकुमारी स्थित फ्ल्याटमा मनाउँदै छिन् । भर्खरै निताले फ्ल्याट किनेकी छिन् । हाल मर्मत भैरहेको उनले बताइन् । यस्तै रिलिजको क्रममा रहेको फिल्म लोफरकी अभिनेत्री रजनी केसीको पनि यसपाली दशैंको टिका नहुने भएको छ । उनको पिताको केहि दिन अगाडी मात्र निधन भएको थियो । उनी अहिले पिताको शोकमा नै छिन् ।

