फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार यसै साता फिल्म क्षेत्रका करिब आधा दर्जन कलाकार नेपाली काङ्ग्रेस प्रवेशको तयारीमा छन् । पार्टी कार्यालय सानेपामा पार्टी प्रवेश गर्ने कलाकारलाई औपचारिक स्वागत कार्यक्रमको तयारी हुँदै गरेको बुझिएको छ ।
काङ्ग्रेस सम्बद्ध फिल्म निर्देशकका अनुसार वरिष्ठ कलाकार निर शाह, रमेश बुढाथोकी, अभिनेत्री झरना थापा, मेलिना मानन्धर, रुपा राणा, अभिनेता मुकेश ढकाल लगायतले काङ्ग्रेसको सदस्यता लिदैछन् । ती काङ्ग्रेसी निर्देशकका अनुसार कलाकार शाहलाई आगामी संविधान सभामा समानुपातिक तर्फको टिकट उपलब्ध गराउने सम्बन्धमा पार्टीमा छलफल हुँदैछ ।
प्रत्यक्ष चुनाव लड्ने ईच्छा देखाएका शाह स्व. राजा विरेन्द्र परिवारसँग नजिक मानिन्थे । दरबार हत्याकाण्ड पछि उनी शाह परिवारसँग टाढिएर माओवादी तर्फ मोडिएका थिए । तर, सदस्यता दिने माओवादी पार्टीको प्रयास असफल भएको थियो । शाहले आफुलाई कुनै पनि पार्टीको छायाँमुनि नरहेको बताउँदै आएका थिए ।
राजनीतिक झण्डा नओढ्ने कलाकारको संख्या रजतपटमा न्यून हुँदैछ । भुवन केसीले एमालेको र रेखा थापाले एमाओवादीको अविर माला पहिरिएका छन् । राजेश हमाल र करिश्मा मानन्धरसँग पनि नेपाली काङ्ग्रेसको वार्गेनिङ चलिरहेको खबर नयाँ होइन । पछिल्ला घटना क्रमलाई हेर्दा लाग्छ, फिल्मी कलाकारको करिअरको उत्तम विकल्प राजनीति नै हो ।

