रेखा फिल्मस्को अन्दाज फिल्मका मुख्य दुई हिरो जीवन लुइँटेल र सविन श्रेष्ठ पर्दामा पुनः दोहोरिने भएका छन् । प्रि-प्रोडक्सनमा रहेको 'अजम्बरी प्रेम' नामक फिल्ममा जीवन र सविनले फिल्म खेल्ने बारे मौखिक सहमती दिइसकेको संगीतकार तथा प्रोडक्सन म्यानेजर उज्जवल लिम्बुले फिल्मीखबरलाई जानकारी दिए ।
दशैं सकिए लगत्तै फिल्मको छायाँकन गरिने लिम्बुले बताए । फिल्ममा जीवन र सविनको साथमा निता ढुङ्गाना रहन सक्ने सम्भावना रहेको छ । लिम्बुवान पार्टीको तर्फबाट इलाम क्षेत्र नम्वर १ बाट आगामी संविधान सभाको प्रत्यक्ष चुनावमा एमाले पार्टीका अध्यक्ष झलनाथ खनाललाई टक्कर दिन लागेका लिम्बुले अभिनेत्री ढुङ्गानाले फिल्मको स्क्रिप्ट पढ्न लगेको बताए ।
फिल्म माया प्रेमको कथामा आधारित रहने लिम्बुको भनाई छ । बेद प्रसाद भूर्तेलको निर्देशन रहने फिल्मका चार गीत रेकर्ड भैसकेका छन् । राजेशपायल राई, दिपक लिम्वु र ज्योती राणाको स्वरलाई रेकर्ड गराइएको छ । पूर्वी जिल्लाहरुमा छायाँकन गरिने फिल्मलाई श्याम निर्रौला र हरी नारायण चौधरीले क्यामेरा ह्याण्डल गर्ने छन् । चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहने फिल्ममा ज्ञानु सुब्बाको नृत्य निर्देशन रहनेछ । फिल्मलाई उमेश उप्रेती र रोशन उप्रेतीले लगानी गर्दैछन् ।

