अंग्रेजी क्यालेन्डर फेब्रुअरी १४ को भ्यालेनटाइन डेलाई लिएर फिल्म बन्ने क्रम जारी छ । सुरज सुब्बा नाल्बोको निर्देशनमा केही वर्ष अघि मेरो भ्यालेनटाइन नामक फिल्म निर्माण भयो । निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह, सुश्मिता ढकाल अभिनित फिल्म प्रदर्शनको क्रममा छ । फिल्मको कथा शिर्षक अनुसार रहेको बताइन्छ ।
अभिनेता आर्यन सिग्देलले निर्माण गर्दै गरेको नोभेम्वर रेन फिल्म पनि प्रणय दिवससँग मिल्न जान्छ । त्यसकारण निर्माण युनिटले वर्ष ७० को भ्यालेनटाइन डेमा प्रदर्शन मिति राखेको छ । छायाँकनरत फिल्ममा आर्यनको साथमा नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङ मुख्य भुमिकामा छन् । फिल्मका निर्देशक दिनेश राउत हुन् ।
केही दिन अघि मात्रै फेब्रअरी १४ लाई नाम दिएर एक फिल्मको शुभ साइत गरियो । शंकर अधिकारी घायलको लेखन रहेको फिल्ममा नितिन चन्दको निर्देशन रहनेछ । मिलन सिजापती र वर्षा राउतको मुख्य भुमिका रहने फिल्मको दशैं पछाडी छायाँकन प्रारम्भ हुने बताइएको छ । प्रणय दिवसलाई लिएर निर्माण हुने कुन फिल्मले व्यापारिक बाजी मार्लान् ? एउटै विषय माथि निर्माण भएका फिल्मको व्यापार सुपर हुन सहज भने नहोला ।
रोनाधोन बाहेक नेपाली फिल्मका लागी अरु कथा नै हुँदैनन् कि क्या हो ? केही वर्ष अघिसम्म नेपाली फिल्म मेकर्सलाई आरोप लाग्ने गर्थ्यो, सासुले बुहारीलाई कुटेको र हिरोले भिलेनलाई पिटेको फिल्म मात्रै कति हेर्ने ? नेपाली फिल्ममा सासु बुहारी र हिरो भिलेनको कथामा विस्तारै परिवर्तन आउँदैछन् । तर, ब्लकबस्टर फिल्म लुट र चपली हाइट फेमका फिल्मले पनि फल्पको व्यापार गरेपछि नेपाली फिल्ममा कस्तो कथा बिक्छ ? अन्यौल नै छ ।
जे होस्, रजतपटमा भिन्न-भिन्न विषय माथि फिल्म निर्माण हुने क्रम जारी छ । पचास वर्ष पार गरिसक्दा पनि नेपाली फिल्म मेकर्स प्रयोगमै सिमित छन् ।

