निर्माता रमेशजंग रायमाझीलाई नेपाली काङ्ग्रेस पार्टीले आगामी संविधान सभाको चुनावमा प्रत्यक्ष तर्फको टिकट उपलब्ध गराउने भएको छ । आज बिहान काङ्ग्रेस पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय स्तरको बैठकले निर्माता रायमाझीलाई गृह जिल्ला मोरङ क्षेत्र नम्वर ८ बाट प्रत्यक्ष तर्फको टिकट उपलब्ध गराउने निर्णय गरेको हो ।
नाइ नभन्नु ल, मलाई मन पर्यो र प्रदर्शनको क्रममा रहेको सन्त्रास गरी तीन फिल्म निर्माण गरेका निर्माता रायमाझी समाजसेवाको क्षेत्रमा लडाकु स्वभावका मानिन्छन् । गृह जिल्लामा रायमाझीको राम्रै पकड देखिएकाले नेपाली काङ्ग्रेसले टिकट उपलब्ध गराएको बुझिएको छ । यसअघि मोरङ क्षेत्र नम्वर ८ मा निर्माता रायमाझी र अभिनेत्री रेखा थापा बिच चुनावी प्रतिस्पर्धा हुने सम्भावना प्रवल रहेको थियो ।
रेखा थापालाई एमाओवादीले पर्सा क्षेत्र नम्वर २ बाट टिकट उपलब्ध गराउने पक्का भएपछि उनीहरु बिचको चुनावी टकराव टुङ्गेको हो । नेपाली काङ्ग्रेसबाटै चुनावी टिकट पाउन कसरत गरिरहेका अर्का निर्माता तथा कलाकार रोज राणालाई भने सानेपा पार्टी कार्यालयले कुनै निर्णय गरेको छैन ।

