आगामी संबिधान सभाको चुनावमा तपाई कुन कलाकारलाई मैदानमा देख्न चाहनु हुन्छ ? भन्ने फिल्मीखबर डट कमको भोटिङ पोलमा अभिनेता राजेश हमाललाई बहुमत मिलेको छ । भोटिङ पोलमा राजेपछि अभिनेत्री रेखा थापालाई बढी मत मिलेको छ । त्यसपश्चात क्रमशः भुवन केसी, रोज राणा र कोमल ओलीलाई पोलमा भोट खसेको छ ।
अभिनेता हमाललाई चुनावी मैदानमा देख्न चाहनेको भिड फिल्मीखबरको फेसबुक पेज ( https://www.facebook.com/filmykhabar1 ) मा पनि लामै छ । आएका अधिकांश प्रतिक्रियामा राजेश हमालको नाम उल्लेख छ, त्यसपछि रेखा थापा छिन् । फिल्मीखबरको पोलमा राजेश ६४ र रेखाले १९ प्रतिशत भोट प्राप्त गरेका छन् । अन्य कलाकारको भोट दश प्रतिशत भन्दा मुनि छ । चुनावी मैदानमा देख्ने फ्यानको चाहना भएपनि अभिनेता राजेश हमालले भने चुनावमा नलड्ने संङ्केत दिएका छन् ।
चुनावमा उठाउन नेपाली काङ्ग्रेसले गरेको प्रस्तावलाई अभिनेता हमालले नो थ्याङ्सको प्रतिक्रिया दिएको बुझिएको छ । भोटिङ पोलको दोस्रो नम्वरमा रहेकी अभिनेत्री रेखा थापा भने पर्सा क्षेत्र नम्वर १ बाट प्रत्यक्ष चुनाव लड्दैछिन् । रेखालाई एमाओवादीले चुनावी मैदानमा उठाउँदैछ । एमालेबाट चुनाव लड्ने मनस्थिति बनाएका अभिनेता भुवन केसी भने यता न उता परेका छन् । एमाले टिकट नदिएको झोकमा राप्रपा पस्ने घोषणा गरेका उनको पुनः एमालेमा फिर्ती भएको छ । अहिलेसम्म भुवनको नाम एमालेले सिफारिस गरिसके छैन ।

निर्माता तथा कलाकार रोज राणा भने प्यूठान क्षेत्र नम्वर २ बाट प्रत्यक्ष चुनाव लड्ने सुचिमा परेका छन् । रोजलाई नेपाली काङ्ग्रेसले सिफारिस गरेको हो । गायिका तथा अभिनेत्री कोमल ओलीले भने चुनाव नलड्ने बताएकी छिन् । चुनाव हुने छाँटकाँट देखिए मात्र राजनीतिमा आउने तयारी गरिरहेकी कोमलले छुट्टै पार्टी खोल्ने पनि बताउँदै आएकी छिन् । आगामी संविधान सभाको निर्वाचनमा निर्माता उद्धव पौडेल, आधुनिक गायिका मिरा राणा र पप गायक संजय श्रेष्ठ उठ्ने तयारी गर्दैछन् । उद्धव, मिरा र संजयलाई राप्रपा पार्टीले टिकट उपलब्ध गराउने बुझिएको छ ।

