नेपालमा वान लाइन सम्पादन गरिएपछि निर्देशक सन्दिप जोसेपले नेपाली फिल्म 'सेफ ल्याण्डिङ'को सम्पादन गर्न बलिउड फिल्म सम्पादक मेघना अश्चित श्रीवास्तवलाई दिएका छन् ।
फिल्म मेकिङ भनेको कम्रमाईज नभएको भन्दै निर्देशक जोसेपले बलिउड सम्पादकलाई सेफ ल्याण्डिङको काँटछाँटको जिम्मा लगाएका हुन् । फन्ना, क्रिष, रंग दे बसन्ती, नजर, देल्ही ६ जस्ता फिल्मको सह-सम्पादन र एक बुरा आदमी, क्रेजी ४, कुछ लभ जैसा जस्ता फिल्मको सम्पादन गरेकी मेघनालाई सम्पादन गर्न दिनुको कारण बारे निर्माता बसन्त भण्डारी भन्छन्- 'हामी फिल्मलाई गुणस्तरिय बनाउने पक्षमा छौं । आशा छ, मेघनाले फिल्मलाई उच्चस्तरिय ढंगले सम्पादन गर्नेछिन् ।'
'खर्चसँग हामी डराएका छैनौं,' बलिउड सम्पादकसँगको एग्रिमेण्टको बारेमा बोल्दै निर्माता भण्डारीले भने- 'हामी कति पैसा दियौं भन्दा पनि कस्तो प्रोडक्ट चाहन्छौं भन्ने हो । उहाँको डिमाण्डलाई हामीले पूरा गरेका छौं । उहाँले हाम्रो लागि पनि राम्रो काम गरिदिनुहुन्छ भन्ने आश छ ।' पोस्टप्रोडक्सन पनि फिल्म मेकिङको महत्वपूर्ण स्थान रहेकाले हरेक प्राबिधिक कामलाई गुणस्तरिय बनाउँदै लगेकाले रिलिज हुन ढिलाई भएको निर्माता भण्डारीको भनाई छ ।
भारतिय मूलका मलेसियन नागरिक सन्दिप जोसेपले निर्देशन गरेको फिल्म 'सेफ ल्याण्डिङ'मा निरज बराल, झरना बज्राचार्य, सुशिलराज पाण्डे, सुमिना घिमिरे, शिखा शाही, बिएस राणा, रवि गिरी लगायतको अभिनय रहेको छ । अष्ट्रेलियन एनआरएन बसन्त भण्डारीको साथमा मलेसियन नागरिक राहुल अग्रवालको लगानी रहेको ड्रग्स माफियाको कथामा आधारित यो ग्याङ्स्टार फिल्ममा निरजलाई नेगेटिभ भुमिकामा देख्न सकिन्छ ।
फिल्ममा राजन इशानको संगीत, जोन ज्याकोभको छायाँकन तथा हिमाल केसीको द्धन्दनिर्देशन रहेको छ । नो वरिज फिल्म्सको व्यानरमा निर्माण गरिएको यो फिल्मको कथा निर्देशक जोसेप र शान बस्न्यातले तयार पारेका हुन् । फिल्मलाई नेपालमा दिर्घ खड्काले वान लाइन सम्पादन गरेका थिए । फिल्मको फाईफ प्वाईण्ट वान साउण्डको काम पनि पुन: गरिने भएको छ ।

